विराटनगर । मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९, बसपार्क छेउका ४५ वर्षीय रवि कामत रहेका छन्।
प्रहरीकाअनुसार विराटनगर महानगरपालिका–३ स्थित पोखरिया स्कुल छेउको भित्री सडकखण्डमा कञ्चनबारीबाट भट्टाचोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको १५० सीसी पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीकाे पोलमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका कामतलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले राति २ः३० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल तीव्र गतिमा रहेको, चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजातसमेत नखुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ।
घटनाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बिहान १०ः१५ बजे जानकारी प्राप्त भएको थियो। दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट करिब २ किलोमिटर पश्चिममा पर्छ।












Discussion about this post