सगरमाथा संसारको सर्वोच्च शिखर मात्र होइन, नेपाली पर्वतारोहणको इतिहास, साहस र विश्व कीर्तिमानको सबैभन्दा ठूलो प्रतीक पनि हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पाले सर एडमन्ड हिलारीसँगै पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेदेखि सुरु भएको नेपाली आरोहणको इतिहास आज विश्वकै असाधारण कीर्तिमानसम्म पुगेको छ ।
आज यही इतिहासमा अक्सिजनबिना सगरमाथा १० पटक चढ्ने आङरिता शेर्पा, चुचुरोमा २१ घण्टा बिताउने बाबु छिरी शेर्पा, सबैभन्दा तीव्र नेपाली आरोहण गर्ने ल्हाक्पा गेलु शेर्पा र ३२ पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गर्ने कामिरिता शेर्पा जस्ता नाम सगरमाथा आरोहणको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको पहिलो नेपाली नाम हो । नेपाल सरकारको पर्वतारोहणसम्बन्धी अभिलेखमा तेन्जिङ नोर्गे शेर्पालाई नेपालका रूपमा सगरमाथाको पहिलो सफल आरोहीका रूपमा सूचीकृत गरिएको छ । उनले २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारीसँगै सगरमाथाको दक्षिणी मार्गबाट शिखर आरोहण गरेका थिए ।
नेपाल पर्यटन बोर्डले पनि सगरमाथाको पहिलो सफल आरोहण हिलारी र तेन्जिङले १९५३ मा गरेको उल्लेख गरेको छ ।
तर ‘पहिलो नेपाली पुरुष आरोही’ भन्ने प्रसंगमा फु दोर्जे शेर्पाको नाम विशेष रूपमा आउँछ । नेपाल सरकारको अभिलेखमा उनको राष्ट्रियता नेपाल र शिखर पुगेको मिति २९ मे १९६५ उल्लेख छ । सो दिन उनी एच.पी.एस. अहलुवालिया र एच.सी.एस. रावतसँगै सगरमाथाको चुचुरोमा पुगेका थिए । सन १९६५ को यो आरोहण सगरमाथाको इतिहासमै महत्वपूर्ण थियो, किनकि पहिलोपटक तीन आरोही एकैपटक चुचुरोमा उभिएका थिए ।
यसकारण ‘पहिलो नेपाली’ भन्ने पदावली प्रयोग गर्दा तेन्जिङ नोर्गे शेर्पा नेपाल सरकारको अभिलेखमा पहिलो नेपाली आरोही र फु दोर्जे शेर्पा सन् १९६५ मा पहिलो नेपाली पुरुष आरोही भनेर ऐतिहासिक दस्तावेजमा उल्लेख छ ।
प्रारम्भिक नेपाली आरोहीको इतिहास सगरमाथाको प्रारम्भिक नेपाली आरोहण क्रम हेर्दा तेन्जिङ र फु दोर्जेपछिका दशकमा नेपाली शेर्पाहरूले लगातार नयाँ इतिहास बनाएका छन् । नेपाल सरकारको पर्वतारोहण अभिलेखमा छोतारे शेर्पाको शिखर आरोहण १२ मे १९७०, तथा १९७३ को आरोहण अभियानमा नेपाली आरोहीहरूको नामसमेत समावेश छन् ।
सन् १९७३ को आरोहणमा शम्भु तामाङको नाम विशेष चर्चित छ । उनी ५ मे १९७३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । त्यतिबेला उनी १७ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरका आरोही बनेका थिए । त्यसपछि नेपाली आरोहीहरूको संख्या र सफल आरोहण निरन्तर बढ्दै गयो ।
सगरमाथा अब विदेशी अभियानका लागि मात्र होइन, नेपाली पर्वतारोहीको व्यावसायिक दक्षता, साहस र विश्वस्तरीय नेतृत्वको परिचय दिने क्षेत्रसमेत बन्न पुगेको छ ।
अक्सिजनबिना सगरमाथा १० पटक आरोहण गरी ‘हिउँचितुवा’ को उपनाम पाएका आङरिता शेर्पा नेपाली पर्वतारोहण इतिहासमा सबैभन्दा असाधारण नाममध्ये एक हो । उनले सगरमाथा १० पटक आरोहण गरे र ती सबै आरोहणमा बोतलको अतिरिक्त अक्सिजन प्रयोग गरेनन् ।
गिनिज बुक अफ वल्ड्र रेकर्डले उनलाई मष्ट क्लाईम्ब अफ एभरेष्ट विथआउट सप्लिमेन्ट्री अक्सिजनको विश्व कीर्तिमानधारीका रूपमा प्रमाणित गरेको छ । उनको पहिलो आरोहण ७ मे १९८३ र दसौँ तथा अन्तिम सगरमाथा आरोहण २३ मे १९९६ मा भएको थियो ।
आङरिताको १० बिना–अक्सिजन आरोहणको समयावधि तथा रेकर्ड यस्तो छ ।
७ मे १९८३ — पहिलो आरोहण
१५ अक्टोबर १९८४ — दोस्रो
२९ अप्रिल १९८५ — तेस्रो
२२ डिसेम्बर १९८७ — चौथो
१४ अक्टोबर १९८८ — पाँचौँ
२३ अप्रिल १९९० — छैटौँ
१५ मे १९९२ — सातौँ
१६ मे १९९३ — आठौँ
१३ मे १९९५ — नवौँ
२३ मे १९९६ — दसौँ
गिनिज बुक अफ वल्ड्र रेकर्डका अनुसार यी सबै आरोहणमा उनले बोतलको अतिरिक्त अक्सिजन प्रयोग नगरी सम्पन्न गरेका थिए ।
जाडो मौसममा पनि बिना अक्सिजन आङरिताको अर्को ऐतिहासिक उपलब्धि छ । २२ डिसेम्बर १९८७ मा उनले सगरमाथाको विन्टर समिट गरेका थिए । त्यस दिन उनले जाडोयाममा अतिरिक्त अक्सिजनबिना सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको कीर्तिमान बनाए । गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार त्यसपछि लामो समयसम्म अरू कसैले यो उपलब्धि दोहोर्याउन सकेन ।
सगरमाथामा अर्को नेपाली आरोहीको रेकर्ड हो बाबुछिरी शेर्पाको । उनले सगरमाथा चुचुरोमा २१ घण्टा बिना अक्सिजन बिताएका थिए ।
बाबु छिरीको असाधारण साहस सगरमाथाको चुचुरोमा सामान्य आरोही केही मिनेटदेखि बढीमा करिब एक घण्टासम्म मात्र बस्ने प्रयास गर्छन । तर नेपाली आरोही बाबु छिरी शेर्पाले ६मे १९९९मा सगरमाथाको चुचुरोमा बिना अक्सिजन २१ घण्टा सम्म बसेर संसारलाई चकित पारेका हुन् ।
सगरमाथाको सबैभन्दा छिटो नेपाली आरोहण सगरमाथा चढ्नु साहस मात्र होइन, समय र गति व्यवस्थापनको पनि परीक्षा हो ।
नेपाली आरोही ल्हाक्पा गेलु शेर्पाले सगरमाथा आरोहणमा असाधारण गति प्रदर्शन गरे । उनले २६ मे २००३ मा दक्षिणी मोहडाबाट आधार शिविरदेखि चुचुरो सम्मको आरोहण १० घण्टा ५६ मिनेट ४६ सेकेन्डमा पूरा गरेर बिश्व किर्तिमान कायम गरेका हुन् । गिनिज बुक अफ वल्र्ड रेकर्डले फाष्टेष्ट एसेनट अफ एभरेष्ट साउथ साईड भनेर उनको आरोहणलाई बिश्वकिर्तिमानको रूपमा प्रमाणित गरेको छ ।
ल्हाक्पा गेलुले २५ मे २००३ साँझ ५ बजे आधार शिविरबाट आरोहण सुरु गरी २६ मे बिहान ३ः५६ः४६ बजे चुचुरोमा पुगेको उल्लेख छ । यसअघि पेमा दोर्जे शेर्पाले २३ मे २००३ मा आधार शिविरदेखि शिखर सम्मको यात्रा करिब १२ घण्टा ४५ मिनेटमा पूरा गरेको रेकर्ड थियो । त्यसको केही दिनमै ल्हाक्पा गेलुले १०ः५६ः४६ को समय निकाल्दै उक्त कीर्तिमान तोडेका थिए ।
सगरमाथा नेपालमै पर्छ अनि सगरमाथामा सबै भन्दा धेरै बिश्व रेकर्ड पनि नेपालीले नै बनाएकाछन् । सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने पनि नेपाली नै छन् । जसले ३२ पटक सगरमाथाको सफल आरोहण गरेर बिश्वकिर्तीमान बनाएका छन् ।
कामिरिताले पहिलोपटक १३ मे १९९४ मा सगरमाथाको शिखर चुमेका थिए भने त्यसपछि निरन्तर आरोहण गर्दै उनले १७ मे २०२६ मा ३२औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै विश्व कीर्तिमान तोडे गिनिज बुक अफ वल्ड्र रेकर्डले उनलाई पुरुषतर्फ सगरमाथाको सर्वाधिक आरोहण गर्ने व्यक्ति ३२ पटकका रूपमा प्रमाणित गरेको छ । उनले १७ मे २०२६ मा स्थानीय समयअनुसार बिहान १०ः१२ बजे ३२ औँ पटक सगरमाथा शिखर चुमेका थिए ।
उनका निकटतम नेपाली प्रतिद्वन्द्वी पासाङ दावा शेर्पा हुन, जसले २०२६ सम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
महिला आरोहणतर्फ भने ल्हाक्पा शेर्पाले १७ मे २०२६ मा ११औँ पटक सगरमाथा चढेर महिलातर्फको सर्वाधिक आरोहणको विश्व कीर्तिमान कायम गरेकी छन् ।
सगरमाथामा नेपाली महिलाले पनि आफ्नै इतिहास बनाएका छन् । पासाङ ल्हामु शेर्पाको १९९३ को सफल आरोहणले नेपाली महिलाका लागि नयाँ बाटो खोल्यो । पछिल्ला वर्षमा ल्हाक्पा शेर्पाजस्ता आरोहीले विश्वस्तरका नयाँ कीर्तिमान थपेका छन् ।
१९५३ को तेन्जिङदेखि २०२६ को कामिरितासम्म आइपुग्दा नेपाली आरोहीहरूले सगरमाथामा पाइला मात्र राखेका छैनन् बरु कीर्तिमानमाथि कीर्तिमान थप्दै गएका छन् ।
सगरमाथा विश्वको सर्वोच्च शिखर हो, तर त्यसको आरोहण इतिहासमा नेपाली शेर्पाहरूले बनाएका कीर्तिमानहरू पनि विश्व पर्वतारोहणका सर्वोच्च अध्याय हुन् ।
अर्जुन उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्




![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-360x180.png)








![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)

Discussion about this post