सामान्यतयाः मान्छेसँग प्रत्यक्ष सम्बन्ध भएका जुका दुई प्रकारका हुन् । एउटा ओसिलो सेपिलो ठाउँमा रहने र अर्को मानिसको पेटभित्र बसेर पालिने । दुवै प्रकारका जुका कुनै अन्य प्राणीको शरीरमा टाँसिएर रगत चुस्ने गर्छन् ।
ओसिलो सेपिलो ठाएँमा बस्ने हाड बिनाको जुका टाउको र पुच्छरको भरमा हिँड्छ । यो जुका मानिस वा कुनै प्राणीको शरीरमा टाँसिएर रगत चुस्छ र अघाएपछि आफैँ खस्छ । पेटभित्र बस्ने जुका पनि हाडविहीन प्राणी हो । यो मान्छे लगायतका प्राणीको पेटमा बसेर रगत र रस चुसिरहन्छ ।
मान्छेको पेटमा बस्ने जुकाको कुरा गरौँ । उसले पेटमा बसेर खाइरहन्छ । त्यहीँ नयाँ जुका उत्पादन गर्छ र संख्या वृद्धि गरिरहन्छ ।
जुकाको टोकाइले पेटमा जलन हुन्छ । मान्छे दिनप्रतिदिन दुब्लाउदै जान्छ । खान अरुचि हुन्छ र रक्तविहीन अनुहार देखिन थाल्छ, तर जुका भने बलियो हुँदै जान्छ । जुकाको संख्या पनि बढ्दै जान्छ । पहिलो वर्गको जुका अघाएपछि सन्तुष्ट भएर झर्छ । तर पेट भित्रको जुका अघाएर सन्तुष्ट हुँदैन, निरन्तर चुसिरहन्छ । सरकार र यो जुकाको स्वभाव उस्तै लाग्छ, मलाई ।
चुस्ने सन्दर्भको कुरा गर्ने हो भने मिटरब्याजी र जुका उस्तै लाग्छ । मिटरब्याजीले आर्थिक सकस परेको मान्छेलाई महङ्गो ब्याजदरमा पैसा दिन्छ । महङ्गो ब्याजका कारण ब्याज तिर्दातिर्दै आसामीले सावाँ तिर्न सक्तैन र साहु मिटर ब्याजीले जग्गा जमिन हडप गर्छ । यी मिटरब्याजी भन्दा कम हुँदैनन् जुका । मान्छेको शरीर चुसेर सिद्रा सुकाएजस्तो सुकाइदिन्छन् जुकाहरूले ।
जुकाको सर्वाधिक भयंकर रूप भने सरकार नै हो । पेटमा बसेर खुन चुस्ने जुकालाई औषधि प्रयोग गरेर मार्न सकिन्छ । मिटरब्याजी जुकाहरूलाई कानुनी कारबाही गरेर जेल हाल्न सकिन्छ । तर सरकार यस्तो जुका हो उसकै हातमा शासनसत्ता हुन्छ ।
पुलिस, सेना उसैसँग हुन्छ । ऐन, कानुन ऊ आफैँ बनाउछ र लागू गर्छ । उसलाई कुनै औषधि प्रयोग गर्न सकिदैँन । कानुनी कारबाही गर्न सकिदैँन । उ मनमौजी हुन्छ । जताबाट पनि र जहाँबाट पनि जनताको रगत चुसिरहन सक्छ । जनता रगत सकिएर पहेँला भैसक्छन् तर सरकार निरन्तर चुसुरहन्छ । जसरी मृत्यु शैय्यामा पुगेकी आमाका सुकेका लाम्टा, कुनै अवोध शिशुले चुसिरहेको हुन्छ ।
सुदखोर, चक्रवर्ती ब्याज खाने सामन्त र मिटरब्याजीहरू कानुनको नजरमा अपराधी हुन्, तर ब्याज त सरकार पनि खान्छ । सरकार ब्याज भन्दैन विलम्ब शुल्क भन्छ । हर्जना भन्छ, जरिवाना भन्छ । अझ कर र भ्याट सम्बन्धमा सानो त्रुटि भेट्यो भने तीनडबल फाइन ठोक्छ । यो चाहिँ सामन्ति प्रवृत्ति हैन र ? बैँक र सहकारीको ऋण खाएबापत टाट पल्टिएकाहरूको कथा त अझ भिन्नै छ । यस्तो समस्यामा परेका नागरिकको बचाउ गर्नु चाहिँ सरकारको दायित्व हैन र ?
हाम्रो सरकार प्रत्यक्ष र अप्रत्यक्ष दुई प्रकारले कर असुली गर्छ । प्रत्यक्षमा आयकर, सम्पत्तिकर, घरबहाल कर र व्यवसाय कर पर्छन् । मूल्य अभिवृद्धि कर, भन्सार महसुल र अन्तशुल्क अप्रत्यक्ष करमा पर्छन् ।
अप्रत्यक्ष कर पनि सबै अन्तिम उपभोक्ताले भुक्तानी गर्नुपर्छ । उदाहरणका लागि मूल्य अभिवृद्धि करको कुरा गरौँ । व्यापारीले आफूले तिरेको भ्याट फिर्ता पाउँछ । तर अन्तिम उपभोक्ताले सम्पूर्ण भ्याटको भार आफ्नो थाप्लामा लिएर मालवस्तु खरिद गर्नुपर्छ ।
उसले कहिँ कतैबाट केही फिर्ता पाउँदैन । संघीय संरचनामा अर्को विडम्बना के छ भने जनताले तीनै तहका सरकारलाई अलगअलग कर तिर्नुपर्छ । यसकारण पनि संघीयता बोझ भयो भन्ने आवाज उठिरहेको छ । सरकार जनताको नाम जप्छ तर जनतालाई नै चुसेर संघीयता पालिरहेको छ ।
त्यसैले पनि संघीयताविरुद्ध आवाज उठ्ने गरेको हो ।
कृष्ण अधिकारीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्




![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-360x180.png)








![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)

Discussion about this post