उदयपुर : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि सुरु गरेको छ । महाधिवेशनअन्तर्गत उदयपुरमा बिहीबारबाट वडा अधिवेशन हुँदैछ ।
उदयपुरमा अधिवेशनको तयारी कांग्रेस नेता तथा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतको नेतृत्वमा गरिएको छ । जिल्लामा नेतृत्व चयनका लागि क्षेत्र नम्बर १ मा तिलक कटुवाल र क्षेत्र नम्बर २ मा रामकुमार खत्रीलाई अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
त्यसैगरी त्रियुगा नगरपालिकाको नगर अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी राजकुमार दनुवारले पाएका छन् । आज हुने वडा अधिवेशनबाट वडाको नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन हुने उदयपुर जिल्ला संयोजक बसन्तकुमार बस्नेतले बताए ।
कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज २० गते, प्रदेशसभा क्षेत्र तथा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १७ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने तयारी गरिएको छ ।
त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी रहेको कांग्रेस जिल्ला प्रवक्ता रोसन कार्कीले बताए ।
यसैबीच, गगन थापा नेतृत्वको कांग्रेस पक्षले भने क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिसमेत चयन गरिसकेको जनाएको छ ।

















Discussion about this post