उदयपुर । स्थानीय तहले कानुनसम्मत ढंगले काम नगरी आफूखुसी नियमविपरीत काम गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी स्थानीय तहसम्बन्धी उजुरी पर्ने गरेको आयोगको इटहरीस्थित कार्यालयले जनाएको छ।
शुक्रबार उदयपुरको त्रियुगा नगरपालिकाको सहयोग तथा समन्वयमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले स्थानीय तहले आफ्नो स्रोतसाधनअनुसार काम गर्दा कानुनको पालना गर्नुपर्ने बताए।
अख्तियारको उद्देश्य कानुन पालना गरेर काम भए नभएको बुझ्ने र जाँच गर्ने रहेको बताउँदै उनले कानुनविपरीत काम भएको अवस्थामा उजुरीका आधारमा कारबाही हुने बताए।
त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले नीति तथा नियमविपरीत कुनै पनि काम गर्नु भ्रष्टाचार भएकाले कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिइन्। कतिपय अवस्थामा कानुनको अभाव, जानकारीको कमी तथा कानुनी प्रक्रियाका कारण काम गर्न समस्या हुने गरेको उनले बताइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका कार्यालय प्रमुख यज्ञ पुरीले सहभागीले राखेका जिज्ञासाको जवाफ दिँदै संघीय सरकारले आवश्यक कार्यविधि, कानुन तथा नियम बनाउने र स्थानीय तहले त्यसको पालना गर्नुपर्ने बताए।
स्थानीय तहमा कानुनको पालना नगर्ने तथा कानुन एकातिर र काम अर्कोतिर हुने गरेका कारण बढी उजुरी पर्ने गरेको उनले बताए।
पुरीले भ्रष्टाचार नियन्त्रण गर्ने काम अख्तियारको मात्रै नभई स्थानीय तह, नागरिक समाज, कर्मचारी, बुद्धिजीवीलगायत सबैको साझा जिम्मेवारी भएको बताए। कानुनसम्मत, अनुशासित र इमानदार ढंगले काम गरे भ्रष्टाचार आफैँ न्यूनीकरण हुँदै जाने उनले बताए।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका उपसचिव दीपेन्द्र राईले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्थानीय तहबाट नियम तथा कानुन पालना नहुँदा उजुरी पर्ने गरेको बताए।
काम गर्दा आवश्यक प्रक्रिया पूरा नगर्ने तथा उपभोक्ता समितिलाई काम नदिई भुक्तानी दिने जस्ता कार्यका कारण पनि उजुरी पर्ने गरेको उनले बताए।

















Discussion about this post