इटहरी : ६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस सुनसरीको इटहरीमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । जन्मदिवसका अवसरमा गोर्खा राइफल्समा सेवा गरेका पूर्वसैनिक तथा शुभेच्छुकबीच पुनर्मिलन कार्यक्रमसमेत आयोजना गरिएको हो ।
इटहरीस्थित इम्पेरियल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सेवा निवृत्त गोर्खा राइफल्सका सदस्य तथा पूर्वसहकर्मीहरूको उल्लेख्य सहभागिता थियो । लामो समयपछि एकै ठाउँमा भेला भएका पूर्वसैनिकहरूले सेवाकालका अनुभव, पुराना सम्झना र आपसी सम्बन्धबारे कुराकानी गर्दै आत्मीयता साटासाट गरे ।
कार्यक्रम हवल्दार खगेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । सुबेदार जाहानसिंह राई प्रमुख अतिथि रहेको कार्यक्रममा सुबेदार डम्बरकुमार लिम्बूले संयोजन तथा सुबेदार रुद्रबहादुर राईले सञ्चालन गरे ।
कार्यक्रममा ६/११ गोर्खा राइफल्सको इतिहास, योगदान र परम्पराबारे छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो । संस्थालाई आर्थिक तथा विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्ति तथा गोर्खा राइफल्सको इतिहास र योगदानसँग जोडिएका अग्रज व्यक्तित्वलाई सम्मान गरिएको आयोजकले बताए ।
कार्यक्रम संयोजक डिके लिम्बूले पूर्वसहकर्मीबीच नियमित भेटघाट, आपसी सद्भाव र सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जन्मदिवस कार्यक्रम आयोजना गरिएको बताए । विभिन्न स्थानमा बसोबास गर्ने तथा व्यस्तताका कारण लामो समयदेखि भेटघाट हुन नसकेका पूर्वसहकर्मीलाई एउटै थलोमा भेला गराउन कार्यक्रमले महत्वपूर्ण अवसर प्रदान गरेको उनले बताए ।
लिम्बूले गोर्खा राइफल्ससँग जोडिएका व्यक्ति तथा परिवारबीचको आत्मीयता कायम राख्न आगामी वर्षहरूमा पनि जन्मदिवस कार्यक्रमलाई निरन्तरता दिइने बताए । नयाँ पुस्तालाई गोर्खा राइफल्सको इतिहास, योगदान र आपसी एकताको महत्वबारे जानकारी गराउँदै संस्थासँग जोडिएका परम्परा र सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सहभागी पूर्वसैनिक तथा शुभेच्छुकहरूले पनि यस्ता भेटघाट र पुनर्मिलन कार्यक्रमलाई नियमितता दिँदै संस्थासँग आबद्ध सबैलाई एकताको सूत्रमा जोडिराख्नुपर्ने धारणा राखे ।

















Discussion about this post