सुनसरी : धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ ।
धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म साइकल चलाउने युवाको सङ्ख्या बढ्दो छ । साइकललाई मनोरञ्जन र यात्राको साधनका रूपमा मात्र नभई खेलकुद, साहसिक यात्रा र पर्यटनसँग जोडेर अघि बढाउने युवाहरू पनि धरानमा उत्तिकै छन् ।
धरान–११ का १८ वर्षीय दीपसागर तामाङको साइकल यात्रा अहिले साहसिक तथा प्रतिस्पर्धात्मक साइक्लिङसम्म पुगेको छ । सानै उमेरदेखि साइकल चलाउन रुचि राख्ने तामाङ जुनियर नेसनल च्याम्पियनसमेत भइसकेका छन् ।
बाल्यकालमा साथीहरूले साइकल चलाएको देखेर उहाँलाई पनि चलाउने रहर जाग्यो । सामान्य साइकलबाट सुरु भएको उनको यात्रा अहिले नेपालका विभिन्न स्थान हुँदै भारतको आसामसम्म र माउन्टेन बाइकिङ प्रतियोगितासम्म पुगेको छ ।
‘‘साथीहरूको साइकल देखेर मलाई पनि चलाउन मन लाग्यो । अनि आमा, बुबाले साइकल किनिदिनुभयो र चलाउन थालेँ । साइकलिङ अहिले मेरो जीवनकै महत्त्वपूर्ण हिस्सा बनेको छ’’, उनले भने ।
तामाङले भारतको आसामसहित नेपालका पोखरा, काठमाडौँ, ओखलढुङ्गा, गाईघाटलगायत विभिन्न स्थानमा आयोजना भएका साइक्लिङ कार्यक्रम तथा यात्रामा सहभागिता जनाइसक्नुभएको बताए ।
उनले यात्रा अहिले माउन्टेन बाइकिङको प्रतिस्पर्धात्मक यात्रामा परिणत भएको छ । उनको महत्त्वपूर्ण अनुभवमध्ये कञ्चनजङ्घा आधार शिविरसम्मको यात्रा पनि एक हो ।
ताप्लेजुङमा गत वर्ष आयोजना गरिएको ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत उनीसहित चार जनाको टोलीले कञ्चनजङ्घा आधार शिविरसम्म साइकल यात्रा गर्नुभएको थियो, जुन जुनियर साइक्लिस्टमध्ये विश्वकै पहिलो टोली हो ।
धरानबाट सुरु भएको उक्त यात्रा सहज भने थिएन । कठिन भौगोलिक अवस्था, भिरपाखा र अप्ठ्यारो बाटोका कारण कतिपय स्थानमा साइकल चलाएर तथा कतिपय ठाउँमा बोकेर अघि बढ्नुपरेको उनले बताए । ‘‘त्यहाँसम्म पुग्न सजिलो थिएन । बाटो निकै अप्ठ्यारो थियो ।
साइकल कुदाउन सकिने ठाउँमा कुदाएर लग्यौँ, नसकिने ठाउँमा बोकेर हिँड्नुप¥यो । तीन दिनसम्म कठिन बाटो छिचोल्दै हामी कञ्चनजङ्घा आधार शिविर पुग्न सफल भयौँ,’’ उनले भने ।
त्यसैगरी, तामाङले अन्नपूर्ण सर्किटमा आयोजना हुने माउन्टेन बाइक रेस ‘याक अट्याक’ मा समेत सहभागिता जनाइसकेका छन् । लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ हुँदै मुस्ताङको तातोपानीमा पुगेर समापन हुने सातदिने उक्त अन्तर्राष्ट्रिय रेसमा उनले ५० हजार पुरस्कारसहित दोस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै, ‘२०औँ राष्ट्रिय एमटीबी क्रस कन्ट्री’ तथा ‘१२औँ डाउनहिल च्याम्पियनसिप’ मा उहाँले जुनियरतर्फ दुवै विधामा प्रथम स्थान हासिल गरेका थिए । साइकल यात्राका क्रममा कहिलेकाहीँ अप्ठ्यारा अवस्थाको सामना गर्नुपरे पनि ती अनुभवले आफूलाई निरन्तर साइक्लिङका यात्रामा लाग्न प्रेरित गरेको उनी बताउँछन् ।
तामाङले सानै उमेरमा जुनियरतर्फबाट दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ प्रतियोगितामा सहभागी भई उपाधि जितिसकेका छन् । ‘‘अहिलेसम्म अन्य क्षेत्रतिर लाग्ने सोच बनाएको छैन, साइक्लिङ खेललाई नै निरन्तरता दिने र यसै क्षेत्रमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य छ । अब हेरौँ, के हुन्छ’’, उनले भने ।
धरानका युवाका लागि भने साइक्लिङको उद्देश्य र अनुभव फरकफरक छन् । कसैले साथीहरूसँग सुरु गरेको यो यात्रा खेलकुदसम्म पु¥याएका छन् भने कसैले दैनिक आवतजावत, स्वास्थ्य र मनोरञ्जनसँग जोडेर निरन्तरता दिएका छन् ।
धरान–१२ का अमित श्रेष्ठका लागि साइक्लिङ स्वास्थ्य, मनोरञ्जन र दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनेको छ । सडकको बढ्दो व्यस्तता र सवारीसाधनको चापबीच आफूलाई सक्रिय र स्वस्थ राख्ने माध्यमका रूपमा उनले यसलाई अपनाएका छन् ।
अस्तव्यस्त सडक, सवारीसाधनको चाप र बढ्दो प्रदूषणका बीच आफूलाई गतिशील तथा स्वस्थ राख्ने क्रममा साइकल चलाउन सुरु गरेका युवाहरू धरानमा सयौँ भेटिन्छन् ।
श्रेष्ठ भन्छन्, ‘‘सुरुमा आवश्यकता जस्तो लागेको साइकल चलाउने कुरा बिस्तारै रहर बन्यो र अहिले अभिन्न जीवनशैली बनेको छ ।’’
उनका अनुसार साइकलमा यात्रा गर्दा गति र प्रकृतिको सामीप्यता महसुस गर्न पाइन्छ । शारीरिक रूपमा यसले ऊर्जावान् र तन्दुरुस्त राख्न ठूलो मद्दत गर्छ ।
शारीरिक स्वास्थ्यभन्दा ठूलो साइक्लिङको सकारात्मक प्रभाव मानसिक स्वास्थ्यमा पर्छ । साइकल चलाउँदा नयाँ र सकारात्मक विचारहरू आउँछन् । उनले भने, ‘‘धरान उकालो, ओरालो र प्राकृतिक वातावरण भएको ठाउँ भएकाले साइक्लिङका लागि उपयुक्त छ ।’’
सयौँ साइकल यात्री कठिन उकालो पार गर्दै विभिन्न ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्दा देखिने दृश्य उत्साहजनक र गौरवपूर्ण हुन्छ । साइकललाई स्वास्थ्यसँगै आफ्नो भूगोल, प्रकृति र इतिहास बुझ्ने माध्यमका रूपमा पनि लिन सकिन्छ । साइकल यात्राले पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याएको छ । आफ्नो स्वास्थ्यसँगै भूगोल र इतिहासलाई नजिकबाट बुझ्न चाहनेका लागि साइकल उपयुक्त माध्यम बनेको छ ।
मोरङको केराबारीमा जन्मिएका २४ वर्षीय अनिस तामाङको साइकलसँगको सम्बन्ध भने फरक परिस्थितिबाट सुरु भयो । उनले करिब १२ वर्ष अघिदेखि साइकल चलाउन थालेका थिए ।
घरायसी तथा आर्थिक समस्याका कारण कक्षा ८ पछि पढाइ छाड्नुपरेपछि उनी अहिले आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । सानै उमेरदेखि साइकल चलाउने इच्छा भए पनि आफ्नै साइकल नभएका उनले त्यसै क्रममा पत्रिका अरूका घरघरमा पु¥याउने काम सुरु गरे । पत्रिका पु¥याएबापत साइकल चलाउन पाइने भएपछि उनको रुचि झनै बढ्यो ।
करिब सात–आठ वर्षसम्म पत्रिका बाँड्ने काम गरेँ । अरूका घरघरमा पत्रिका पु¥याएबापत साइकल चलाउन पाइन्थ्यो । ‘‘साइकल चलाउनकै लागि पनि म पत्रिका बाँड्न जान्थेँ’’, उनले भने । पत्रिका बाँड्दै साइकल चलाउने क्रममा उनले त्यसका भिडियो बनाएर युट्युबमा राख्नसमेत थाले । पछि आफ्नै साइकल किनेपछि उनी साथीहरूसँग विभिन्न स्थानमा यात्रा गर्न थाले ।
धरानबाट सिक्किम हुँदै दिल्लीसम्म साइकल यात्रा गर्नुभएका तामाङले दिनमा एक सयदेखि दुई सय किलोमिटरसम्म साइकलमा यात्रा गरेको अनुभव सुनाए ।
उनले भने, ‘‘दिल्ली पुग्न १९ दिन लागेको थियो । त्यो यात्रा सहज भने थिएन तर साथीभाइ समूहमा भएकाले यात्राले नयाँ अनुभव गरायो ।’’
साइकल चलाउने क्रममा तामाङ विभिन्न साइक्लिङ तथा माउन्टेन बाइकिङ प्रतियोगितामा समेत सहभागी भइसकेका छन् । केही वर्षअघि धरानको पञ्चकन्यामा आयोजित प्रतियोगितामा सहभागी भएर उनले जुनियर क्याटेगोरीमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक प्राप्त गरे ।
तीन वर्षअघि साइकल चलाउँदै भिडियो बनाउने क्रममा काठमाडौँ पुगेका तामाङ नगरकोटमा आयोजित ‘एसियन इन्डो रोड सिरिज’ मा सहभागी थिए । उक्त प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका थिए । उनले नेपालका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा समेत सहभागिता जनाइसकेका छन् ।
धरान–१० का विजय श्रेष्ठ विगत १५ वर्षदेखि साइक्लिङलाई आफ्नो दैनिकी र रुचिको विषय बनाउँदै आएका छन् ।
उनले धरान बजारदेखि भेडेटार, चिन्डे डाँडा, चतरा, बराहक्षेत्रलगायतका स्थानलाई रुट बनाएर बिहान र बेलुकाको समयमा साथीभाइसँग समूहमा साइक्लिङ निस्कन्छन् । श्रेष्ठले भारतको दार्जिलिङ र सिक्किमसम्म साइकल यात्रा गरिसकेका छन् । साथै, नेपालका पर्सा, नेपालगञ्ज, चितवन, पोखरा, बागलुङ, गुफापोखरी, लुम्बिनीलगायत विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरूमा समेत सहभागी हुँदै आएको बताए ।
साइक्लिङलाई मनोरञ्जनका लागि मात्र नभएर मुख्य रूपमा रेस र इभेन्ट गरी दुई विधामा हेर्न सकिन्छ । रेस प्रतिस्पर्धात्मक हुन्छ भने इभेन्टमा नयाँ ठाउँ घुम्ने, नयाँ मानिससँग चिनजान गर्ने र रमाइलो गर्ने अवसर मिल्छ ।
‘‘साइक्लिङ भनेको साइकल चलाएर मनोरञ्जन लिनु मात्र होइन, यसले शरीरलाई स्वस्थ राख्नुका साथै नयाँ ठाउँ र मानिससँग जोडिने अवसर पनि दिन्छ’’, उनले भने ।
पछिल्लो समय धरानमा युवाहरू साइक्लिङलाई सोख र मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन र रोजगारीसँग समेत जोडिन थालेको श्रेष्ठको भनाइ छ । धरान आउने पर्यटकलाई स्थानीय साइकलिस्टले गाइडका रूपमा विभिन्न गन्तव्यमा घुमाउन थालेका छन् ।
धरान–११ का दीपक जिमीले दाइको प्रेरणाबाट साइकल चलाउन सुरु गरेका थिए । दाइले साइकल चलाएको देखेपछि उनलाई पनि रहर जाग्यो । त्यसपछि साइकल किनेर चलाउन थाल्नुभएका जिमीको रुचि बढ्दै गएपछि अहिले उनी साइकल गाइडसमेत बनेका छन् ।
सानै उमेरदेखि साइक्लिङ प्रतियोगितामा सहभागी हुँदै आएका जिमीले प्रतियोगितामा प्रायः दोस्रो र तेस्रो स्थान हासिल गर्ने गरेको बताउँछन् ।
अहिले उनी विदेशबाट नेपाल आउने पर्यटकलाई विभिन्न रमणीय स्थानमा साइकलमार्फत घुमाउँदै गाइडको काम गर्दै आयआर्जनसमेत गर्दै आएका छन् ।
धरानका सडक तथा आसपासका क्षेत्रमा साइकल चलाउने युवाको सङ्ख्या बढ्दो छ । स्वास्थ्य, मनोरञ्जन तथा पर्यटनसँग जोडिएर युवाहरू यसतर्फ आकर्षित हुन थालेका छन् ।
धरानमा साइक्लिस्ट युवालाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष पेड्लर्स धरानको आयोजनामा ‘कोरा राइड’ साइक्लिङ च्यालेन्ज हुँदै आएको छ । यस कार्यक्रमले साइकल चलाउने युवालाई प्रोत्साहन गर्नुका साथै दक्ष साइक्लिस्ट उत्पादनमा समेत सहयोग पुग्ने पेड्लर्सका अध्यक्ष किसन मास्केले बताए । उक्त कार्यक्रममा विभिन्न ठाउँबाट तीन सयभन्दा बढी साइक्लिस्टहरू सहभागी हुने गरेका छन् ।
बालबालिकादेखि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहने भएकाले पछिल्लो समय साइक्लिङप्रति युवाहरूको थप आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
सन् २०१७ देखि धरानमा सुरु भएको कोरा राइड च्यालेन्ज २०२४ देखि भने पेड्लर्स धरानमार्फत साइक्लिस्टहरूलाई सङ्गठित रूपमा आह्वान गरी सञ्चालन गर्न थालिएको मास्केले बताए । साइक्लिङले शारीरिक स्वास्थ्य राम्रो राख्नुका साथै मानसिक तनाव कम गर्न पनि सहयोग गर्ने उनको भनाइ छ । छोटो दूरीको यात्रामा मोटरसाइकलको सट्टा साइकल प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदा हुने उनी बताउँछन् ।
साइक्लिङमार्फत धरानका विभिन्न मठ, मन्दिर, धार्मिक तथा पर्यटकीय स्थलको परिक्रमा गरिनुका साथै धरान तथा आसपासका क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । धरानमा साइक्लिङका लागि छुट्टै साइकल लेनको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको छ ।
साइक्लिस्टका लागि सुरक्षित र व्यवस्थित साइकल लेन निर्माणमा सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
सुरक्षित साइकल लेन तथा आवश्यक पूर्वाधार निर्माण गर्न सके धरानमा साइक्लिङलाई थप व्यवस्थित बनाउन सकिने उनले बताए ।
साइक्लिङलाई पर्यटनसँग जोडेर आयआर्जनको माध्यम बनाउन सकिने सम्भावना रहेको मास्केको भनाइ छ । साइकलमार्फत धरानका धार्मिक तथा पर्यटकीय स्थलको चिनारी गराउँदै पर्यटन संस्कृतिको विकास गर्ने उद्देश्यले समेत कोरा राइड च्यालेन्ज आयोजना हुँदै आएको उनले बताए ।
धरानमा बजार क्षेत्रदेखि भेडेटार, निडे डाँडा, कार्कीछाप, पानवारी, दानाबारी, सेउतीलगायतका स्थानसम्म विभिन्न रुटमा साइक्लिङ गर्न सकिन्छ ।
प्राकृतिक तथा भौगोलिक विविधताले भरिएको धरानमा सुरक्षित पूर्वाधार विस्तार गर्न सके साइक्लिङलाई स्वास्थ्य र मनोरञ्जनसँगै पर्यटन तथा आयआर्जनसँग जोड्न सकिन्छ ।

















Discussion about this post