पूर्वी नेपालको संखुवासभा जिल्लामा अवस्थित मकालु हिमाल विश्वको पाँचौँ अग्लो हिमशिखर मात्र होइन, यो प्रकृति, साहसिक पर्यटन, जैविक विविधता र धार्मिक आस्थाको अद्भुत संगम पनि हो । समुद्री सतहबाट ८ हजार ४ सय ८५ मिटर उचाइमा उभिएको मकालु आरोहणको कठिनाइका कारण विश्वका पर्वतारोहीका लागि विशेष चुनौतीपूर्ण गन्तव्य मानिन्छ ।
यही हिमालको आधार शिविर पुग्ने पदमार्गमा पर्ने सिप्टन ला पास, टोबाते र याङलेखर्कले यात्रालाई रोमाञ्चक बनाउँछन् भने शिवधाराले धार्मिक तथा आध्यात्मिक महत्व थप्छ ।
सन् १९५५ मे १५ मा फ्रान्सेली आरोही लियोनेल टेरे र जिन कुजीले पहिलोपटक मकालुको शिखरमा पाइला टेकेका थिए । त्यसको २३ वर्षपछि, सन् १९७८ मे १ मा नेपाली नागरिक आङ छेपाल शेर्पाले मकालु आरोहण गरेर नेपाली पर्वतारोहण इतिहासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरे ।
नेपाल पर्यटन बोर्डका अनुसार उनी मकालु चढ्ने पहिलो नेपाली नागरिक हुन । यसअघि सन् १९५५ मा ग्याल्त्सेन नोर्बु शेर्पाले मकालु हिमालको सफल आरोहण त गरेका थिए । तर उनी भारतीय नागरिक थिए ।
मकालुको आरोहण इतिहास, त्यसपछि विकसित भएका आरोहण मार्ग र आधार शिविर जाने पदयात्रामा पर्ने प्राकृतिक तथा धार्मिक सम्पदाले यस क्षेत्रलाई पूर्वी नेपालको महत्वपूर्ण पर्यटन गन्तव्य बनाउने सम्भावना बोकेका छन् ।
संसारको पाँचौँ अग्लो हिमाल मकालु नेपालको उत्तरपूर्वी हिमाली क्षेत्रमा, चीनको तिब्बतसँगको सीमाक्षेत्र नजिकै अवस्थित छ । यसको उचाइबारे विभिन्न स्रोतमा फरक विवरण भेटिए पनि हिमालयन डाटाबेसले ८ हजार ४ सय ८५ मिटर उल्लेख गरेको छ ।
मकालु आफ्नो विशिष्ट पिरामिड आकार, चारवटा धारिला पाखा र प्राविधिक रूपमा कठिन आरोहण मार्ग यसको अरु हिमाल भन्दा फरक पहिचान हो । हिमालको अन्तिम शिखरतर्फ पुग्दा ठाडा चट्टान, हिउँले ढाकिएका साँघुरा धार र मौसमको अनिश्चिततासँग जुध्नुपर्छ । त्यसैले मकालुलाई विश्वका कठिन आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये एक मानिन्छ ।
मकालु क्षेत्र मकालु–बरुण राष्ट्रिय निकुञ्जभित्र पर्छ । सन् १९९२ मा स्थापना भएको हो । यस निकुञ्जले तल्लो उष्ण क्षेत्रदेखि उच्च हिमाली भूभागसम्म फैलिएको असाधारण जैविक विविधता संरक्षण गर्छ । यहाँका वन, नदी, हिमताल, चरन क्षेत्र र हिमाली भूभागले साहसिक पर्यटनका साथै प्रकृति अध्ययन र अनुसन्धानका लागि पनि महत्त्व राख्छन् ।
सन् १९५५ मे १५ मकालुको मुख्य शिखरमा पहिलो सफल आरोहण गर्ने फ्रान्सेली नागरिक जिन कुजी (Jean Couzy) र लियोनेल टेरे (Lionel Terray) हुन् । उनीहरूले सन् १९५५ मे १५ मा शिखरमा पाइला टेकेका थिए । यो आरोहण फ्रान्सेली पर्वतारोहण इतिहासको उल्लेखनीय उपलब्धि थियो ।
फ्रान्सेली आरोहण टोलीको नेतृत्व जिन फ्रान्कोले गरेका थिए । टोलीले उत्तरपश्चिमी धारतर्फबाट अघि बढ्दै मकालु को शिखर चुमेको थियो ।
पहिलो सफल आरोहणसँगै मकालुमा आरोहणको नयाँ अध्याय सुरु भयो । त्यसबेला आधुनिक प्रविधि, मौसम पूर्वानुमान, सञ्चार प्रणाली र आजको जस्तो पर्वतारोहण उपकरणको सुविधा सीमित थियो। हिमाली भूगोल, कठिन पहुँच र प्रतिकूल मौसमका बीच गरिएको यो अभियान आफैँमा ठूलो चुनौती थियो ।
पहिलो आरोहण भएको भोलिपल्ट, मे १६ मा जिन फ्रान्को, गुइडो म्याग्नोन र शेर्पा ग्याल्त्सेन नोर्बुले शिखर चुमेका थिए । त्यसपछि मे १७ मा जाँ बुभिए, सर्ज कुपे, पियरे लेरु र आन्द्रे भियालातले पनि सफलता हासिल गरे । यसरी पहिलो अभियानकै तीन दिनभित्र टोलीका अन्य सदस्यले पनि मकालुको शिखरमा पुग्न सफल भए ।
यसले मकालुको पहिलो सफल आरोहण कुनै एक आरोहीको व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही एउटा संगठित टोलीको सामूहिक सफलताका रूपमा स्थापित ग¥यो । पहिलो सफल आरोहणपछि मकालुमा विभिन्न देशका आरोहीले नयाँ मार्गबाट शिखर पुग्ने प्रयास गरे । यसक्रममा जापानी र फ्रान्सेली पर्वतारोहीले महत्त्वपूर्ण भूमिका खेले ।
सन् १९७० मे २३ मा जापानी आरोही युइची ओजाकी र हाजिमे तानाकाले मकालुको दक्षिणपूर्वी धारबाट पहिलो सफल आरोहण गरे । यो उपलब्धिले मकालु आरोहणका लागि वैकल्पिक मार्ग खोल्यो । यसअघि उक्त धारबाट शिखर पुग्ने प्रयास सफल हुन सकेको थिएन ।
त्यसपछि सन् १९७१ मा फ्रान्सेली आरोही बर्नार्ड मेले र यानिक सेन्योरले पश्चिमी पिलरको कठिन मार्गबाट शिखरमा पुगेर अर्को महत्त्वपूर्ण कीर्तिमान कायम गरे । पश्चिमी पिलरलाई प्राविधिक रूपमा कठिन मार्गमध्ये एक मानिन्छ ।
मकालुमा भएका यस्ता आरोहणले एउटै हिमालको शिखर पुग्न विभिन्न भौगोलिक धार र प्राविधिक रणनीति प्रयोग गर्न सकिने देखाए । तर नयाँ मार्ग खोल्नु भनेको जोखिम पनि बढ्नु हो । हिउँको अवस्था, चट्टानको संरचना, हिमपहिरोको सम्भावना र मौसमको परिवर्तनले हरेक अभियानको परिणाम निर्धारण गर्दछ ।
मकालु चढ्ने पहिलो नेपाली
आङ छेपाल शेर्पा नेपालले विश्व पर्वतारोहणलाई अनेकौँ दक्ष आरोही र हिमाली सहयोगी दिएको छ । सगरमाथादेखि मनास्लु, कञ्चनजङ्घा र मकालुसम्म नेपाली आरोहीको योगदान महत्त्वपूर्ण छ । तर हरेक हिमालको पहिलो नेपाली आरोहीको इतिहास भने अलग छ ।
मकालुमा नेपाली नागरिकका रूपमा पहिलोपटक शिखर पुग्ने आरोही आङ छेपाल शेर्पा हुन । उनले सन् १९७८ मे १ मा मकालुको सफल आरोहण गरेका थिए ।
नेपाल पर्यटन बोर्डको विवरण अनुसार सन् १९५५ को फ्रान्सेली अभियानमा मकालु चढेका शेर्पा ग्याल्त्सेन नोर्बु भारतीय नागरिक थिए । उनीसहित त्यस समयका धेरै शेर्पा भारतमा बसोबास गर्ने भएकाले उनीहरूलाई भारतीय नागरिकका रूपमा गणना गरिएको उल्लेख छ ।
यही कारण मकालुको पहिलो सफल आरोहण गर्ने टोलीमा शेर्पा आरोही सहभागी भए पनि पहिलो नेपाली नागरिकको उपलब्धि आङ छेपाल शेर्पाको नाममा अभिलेखित छ ।
आङ छेपाल शेर्पाको सफलताले नेपाली पर्वतारोहण इतिहासमा मकालुको छुट्टै स्थान स्थापित ग¥यो । हिमाल आरोहणमा नेपाली नागरिकको सहभागिता केवल सहयोगी भूमिकामा सीमित नभई उच्च हिमाली शिखरको नेतृत्व र सफल आरोहणसम्म पुगेको प्रमाणका रूपमा पनि यो उपलब्धिलाई लिन सकिन्छ ।
नुमदेखि मकालु आधार शिविरसम्मको यात्रा, मकालु आधार शिविर पुग्ने पदयात्रा पूर्वी नेपालको सबैभन्दा रोमाञ्चक र तुलनात्मक रूपमा कम भीडभाड हुने हिमाली यात्रामध्ये एक हो । यात्राको सामान्य प्रवेशद्वार संखुवासभाको तुम्लिङटार र खाँदबारी हुन भने त्यसपछि नुम, सेदुवा हुँदै टाँसी गाउँ सम्म अहिले प्रवेशज्ञद्वारका रुपमा लिईन्छ ।
काठमाडौँबाट तुम्लिङटारसम्म हवाई यात्रा गरेर वा सडकमार्ग हुँदै खाँदबारी पुग्न सकिन्छ । त्यसपछि सडकको अवस्थाअनुसार नुम वा सेदुवा हुँदै टासीगाउँ सम्म जीपबाट यात्रा गरी पदयात्रा सुरु गर्न सकिन्छ ।
सामान्य पदमार्गमा नुम, सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, सिप्टन ला पास, डोबाटेवा, याङलेखर्क, लाङमाले खर्क र मकालु आधार शिविर पर्छन । यात्राको गति, मौसम, अनुकूलनका लागि आवश्यक विश्राम र बाटोको अवस्थाअनुसार आधार शिविर पुग्न करिब एक सातादेखि आठ दिन जति समय लाग्न सक्छ ।
नुमबाट सुरु हुने यात्रामा सुरुमा अरुण उपत्यकाको हरियाली र पहाडी बस्ती देखिन्छन । सेदुवा र टासीगाउँ हुँदै माथि उक्लँदै जाँदा वनस्पति, भूगोल र हावापानीमा परिवर्तन आउँछ । तल्लो भेगका बस्ती तथा खेतीयोग्य जमिन क्रमशः पछाडि छुट्छन् र हिमाली चरन क्षेत्र तथा चट्टानी भूभाग नजिकिन थाल्छन ।
खोङ्मा डाँडातर्फको उकालो यात्राको कठिन खण्डमध्ये एक हो । यहाँ पुगेपछि शरीरलाई उच्च उचाइसँग अनुकूल बनाउने विषय महत्त्वपूर्ण हुन्छ । त्यसपछि सिप्टन ला पास, ठुलोपोखरी हुँदै आसपासका उच्च भूभाग पार गर्दै बरुण उपत्यकातर्फ झर्नुपर्छ ।
लाङमाले खर्कबाट अगाडि बढ्दै जाँदा हिमाली दृश्य अझ खुल्दै जान्छ । अन्ततः करिब ४ हजार ८ सय ७० मिटर उचाइमा रहेको मकालु आधार शिविर पुगिन्छ । यहाँबाट मकालु हिमाल र आसपासका हिमाली संरचनाको दृश्यावलोकन गर्न सकिन्छ ।
यो यात्रा सामान्य पर्यटकीय पदयात्राभन्दा चुनौतीपूर्ण भएकाले पर्याप्त समय, अनुभवी स्थानीय गाइड, मौसमसम्बन्धी जानकारी, उपयुक्त लत्ताकपडा र उच्च उचाइमा देखिन सक्ने स्वास्थ्य समस्याबारे पूर्वतयारी आवश्यक हुन्छ ।
सिप्टन ला पास
कठिन उकालो र हिमाली दृश्यको संगम मकालु आधार शिविर जाने पदमार्गको प्रमुख आकर्षणमध्ये सिप्टन ला पास एक हो । सिप्टन ला पासको उचाई चारहजार दुईसय पचास मिटर रहेको छ । सिप्टन ला पास पुग्नुअघि पदयात्रीले खोङ्मा डाँडा आसपासको कठिन उकालो पार गर्नुपर्छ ।
बाटोमा उच्च हिमाली ताल, ढुंगामाटोका पदमार्ग र खुला डाँडाकाँडा भेटिन्छन । मौसम सफा हुँदा आसपासका हिमशृङ्खला र हिमाली भूगोलको दृश्यले यात्रालाई विशेष बनाउँछ ।
यस क्षेत्रको महत्त्व दृश्यावलोकनमा मात्र सीमित छैन। सिप्टन ला पास पार गरेपछि पदयात्री बारुण उपत्यकातर्फ प्रवेश गर्छन। यही उपत्यका हुँदै याङलेखर्क, लाङमाले खर्क र मकालु आधार शिविर पुग्ने मार्ग अघि बढ्छ।
उच्च उचाइ, चिसो हावा, अचानक बदलिन सक्ने मौसम र हिउँ परेको अवस्थामा बाटो पहिचान गर्न कठिन हुने भएकाले सिप्टन ला पासलाई सामान्य पदमार्गका रूपमा लिनु हुँदैन। पदयात्राको योजना बनाउँदा स्थानीय गाइडको सहयोग र मौसमको अवस्थालाई प्राथमिकता दिनुपर्छ ।
सिप्टन ला पासले मकालु क्षेत्रको साहसिक पर्यटनलाई चिनाउने विशिष्ट पहिचान पनि दिएको छ । हिमाल आरोहण नगर्ने तर उच्च हिमाली भूभागको अनुभव लिन चाहने पदयात्रीका लागि पनि यो मार्ग आकर्षक गन्तव्य बन्न सक्छ ।
डोबाटे
बरुण उपत्यकातर्फको विश्रामस्थल मकालु आधार शिविर जाने यात्रामा डोबाटे, नामले उल्लेख गरिने स्थान पदयात्रीका लागि महत्त्वपूर्ण बास तथा विश्रामस्थल हो । सिप्टन ला र केके ला आसपासका उच्च भूभाग पार गरेपछि पदयात्री डोबाटे तर्फ झर्छन । यहाँको भूगोल, वनस्पति र मौसम खोङ्मा डाँडाको तुलनामा फरक देखिन सक्छ । यात्राको यो खण्डले उच्च पहाडी क्षेत्रबाट बारुण उपत्यकाको वातावरणतर्फ प्रवेश गराउँछ ।
डोबाटेको भौगोलिक अवस्थिति र पदयात्राको संरचनासँग जोडिएको छ । लामो उकालो र उच्च पास पार गरेपछि यहाँ विश्राम लिनु, मौसमअनुसार यात्रा समायोजन गर्नु र अर्को दिनको यात्राको तयारी गर्नु उपयोगी हुन्छ ।
यस क्षेत्रका पदमार्गमा कतिपय ठाउँमा बाटो साँघुरो, चिप्लो वा पहिरोको जोखिमयुक्त हुन सक्छ । वर्षायाममा खोलानाला बढ्ने र पदमार्ग क्षतिग्रस्त हुने सम्भावना रहन्छ । त्यसैले स्थानीय अवस्थाबारे जानकारी लिएर मात्र यात्रा अघि बढाउनु सुरक्षित हुन्छ ।
डोबाटेले मकालु क्षेत्रको पर्यटनमा आधारभूत सेवा, स्थानीय रोजगारी र पदयात्रा व्यवस्थापनको महत्व पनि देखाउँछ । यस्ता साना विश्रामस्थलमा उपलब्ध आवास, खाना, सरसफाइ र उद्धारसम्बन्धी सुविधा व्यवस्थित गर्न सके पदयात्राको गुणस्तर सुधार गर्न सकिन्छ ।
शिवधारा
आस्था, झरना र कठिन पदमार्ग मकालु क्षेत्रको अर्को विशिष्ट आकर्षण शिवधारा हो । यो संखुवासभाको मकालु क्षेत्रस्थित धार्मिक तथा प्राकृतिक गन्तव्य हो, जहाँ हिमाली चट्टानको बीचबाट झर्ने ठूलो जलधाराले विशेष आकर्षण पैदा गर्छ ।
स्थानीय धार्मिक विश्वासअनुसार शिवधारा भगवान् शिव र पार्वतीसँग सम्बन्धित पवित्र स्थल हो । यहाँ शिव र पार्वतीका नाममा चिनिने छुट्टाछुट्टै गुफा रहेको छ । जनै पूर्णिमाका अवसरमा यहाँ मेला लाग्ने र श्रद्धालुहरू दर्शन तथा स्नानका लागि पुग्ने गर्छन् ।
शिवधारा ४ हजार ३ सय १० मिटर उचाइमा रहेको उल्लेख पाइन्छ । यसको विशिष्टता प्राकृतिक झरना र चट्टानी संरचनामा छ । विशाल चट्टानमा रहेको प्वाल वा प्राकृतिक संरचनाबाट झर्नेपानीलाई स्थानीय श्रद्धालुहरूले धार्मिक आस्थासँग जोडेर हेर्नेगर्दछन् ।
शिवधारा पुग्ने बाटो भने सहज छैन । उच्च हिमाली भूभाग, ठाडो चट्टानी बाटो र कठिन भौगोलिक अवस्थाका कारण अनुभवी स्थानीय गाइडको सहयोग आवश्यक हुन्छ । मौसम खराब हुँदा वा चट्टान चिप्लो भएको अवस्थामा यात्रा थप जोखिमपूर्ण हुन सक्छ ।
शिवधारा धार्मिक गन्तव्य मात्र होइन, प्रकृतिमा आधारित पर्यटनको सम्भावना बोकेको स्थल पनि हो । यहाँको धार्मिक परम्परा, स्थानीय कथन, झरना, गुफा र हिमाली भूगोललाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सके यो क्षेत्रको पहिचान अझ व्यापक बनाउन सकिन्छ ।
तर धार्मिक महत्वको प्रचार गर्दा स्थानीय मान्यता र प्रमाणित भौगोलिक तथ्यलाई अलग–अलग रूपमा प्रस्तुत गर्नु आवश्यक छ । त्यसैगरी श्रद्धालुको सुरक्षाका लागि बाटोको अवस्था, मौसम, उद्धार सुविधा र आवश्यक पूर्वतयारीबारे स्पष्ट सूचना दिनुपर्छ ।
याङलेखर्क र लाङमाले खर्क
हिमाली जैविक विविधताको संसार मकालु आधार शिविरतर्फको यात्रामा याङलेखर्क र लाङमाले खर्क विशेष महत्वका स्थान हुन । यी क्षेत्रले पदयात्रीलाई बारुण उपत्यकाको भित्री भूगोल र उच्च हिमाली वातावरणसँग परिचित गराउँछ ।
याङलेखर्क बारुण नदी आसपासको पदमार्गमा पर्ने महत्त्वपूर्ण बासस्थल हो । यहाँबाट लाङमाले खर्क हुँदै आधार शिविरतर्फ यात्रा अघि बढ्छ । खोलानाला, चट्टानी पाखा, वनस्पति र हिमाली चरन क्षेत्रले यस मार्गलाई प्राकृतिक दृष्टिले आकर्षक बनाउँछन् ।
लाङमाले खर्कतर्फ उक्लँदै जाँदा उचाइ बढ्छ र वनस्पतिको स्वरूप पनि परिवर्तन हुँदै जान्छ । यस क्षेत्रको भूगोलले हिमाली वन्यजन्तु र वनस्पतिका लागि विविध बासस्थान उपलब्ध गराउँछ । मकालु–बरुण राष्ट्रिय निकुञ्जको संरक्षण महत्त्व यही विविधतासँग जोडिएको छ ।
यस क्षेत्रको पर्यटन विकास गर्दा पदमार्गमा फोहोर व्यवस्थापन, पानीका स्रोतको संरक्षण, स्थानीय बासिन्दाको सहभागिता र जैविक विविधतामाथि पर्ने प्रभावलाई ध्यान दिनुपर्छ । हिमाली पर्यटनको वास्तविक सफलता पर्यटकको सङ्ख्याले मात्र होइन, स्थानीय प्रकृति र संस्कृतिको संरक्षणबाट पनि मापन गरिनुपर्दछ ।
पर्यटनको सम्भावना र संरक्षणको चुनौती मकालु हिमाल र यसको आधार शिविर जाने पदमार्ग पूर्वी नेपालको पर्यटन विकासका लागि महत्त्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । सगरमाथा क्षेत्रमा जस्तो ठूलो भीडभाड नभएकाले यहाँको पदयात्राले शान्त, प्राकृतिक र साहसिक अनुभव खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्छ ।
यस क्षेत्रमा पदयात्रा, हिमाल अवलोकन, धार्मिक पर्यटन, स्थानीय संस्कृति र जैविक विविधताको अध्ययनलाई एकीकृत गरी पर्यटन कार्यक्रम विकास गर्न सकिन्छ। सिप्टन ला पासको साहसिक अनुभव, टोबातेको पदयात्रा विश्राम, याङलेखर्क र लाङमालेको हिमाली दृश्य तथा शिवधाराको धार्मिक महत्त्वलाई एउटै पर्यटन प्याकेजमा जोड्न सकिन्छ ।
तर सम्भावना हुँदाहुँदै पनि दुर्गम भूगोल, सीमित स्वास्थ्य सुविधा, मौसमको अनिश्चितता, उद्धार सेवाको कठिनाइ र पदमार्ग व्यवस्थापन चुनौतीका रूपमा रहेका छन । पदयात्रीको सुरक्षाका लागि स्थानीय गाइडको तालिम, प्राथमिक उपचार, सञ्चार सम्पर्क, मौसम सूचना र आपत्कालीन उद्धार प्रणालीलाई प्राथमिकता दिन आवश्यक छ ।
त्यस्तै स्थानीय समुदायलाई पर्यटनबाट प्रत्यक्ष लाभ पुग्ने व्यवस्था हुनुपर्छ । स्थानीय आवास, खाना, भरिया सेवा, गाइड, हस्तकला र सांस्कृतिक अनुभवलाई पर्यटनसँग जोड्न सके यस क्षेत्रको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्न सक्छ ।
मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दा राष्ट्रिय निकुञ्जको संरक्षण नियम, फोहोर व्यवस्थापन र स्थानीय धार्मिक स्थलको मर्यादा कायम राख्नु उत्तिकै आवश्यक छ ।
हिमाल, इतिहास र आस्थाको साझा गन्तव्य मकालु हिमालको कथा सन् १९५५ मा जिन कुजी र लियोनेल टेरेले गरेको पहिलो सफल आरोहणबाट सुरु भएको आधुनिक आरोहण इतिहासमा मात्र सीमित छैन । सन् १९७८ मा आङ छेपाल शेर्पाले नेपाली नागरिकका
रूपमा पहिलो आरोहण गरेर स्थापित गरेको उपलब्धि पनि यस इतिहासको महत्त्वपूर्ण अध्याय हो ।
मकालु आधार शिविर पुग्ने पदमार्गले सिप्टन ला पासको चुनौती, डोबाटेको विकल्परहित विश्राम, याङलेखर्क र लाङमाले खर्कको हिमाली भूगोल तथा शिवधाराको धार्मिक आस्थालाई एकै यात्रामा जोड्छ ।
मकालु क्षेत्रमा पर्यटन विकासको अर्थ हिमाललाई केवल आरोहणको गन्तव्यका रूपमा चिनाउनु मात्र होइन । यसको प्राकृतिक सम्पदा, स्थानीय समुदायको जीवनशैली, धार्मिक परम्परा र जैविक विविधतालाई संरक्षण गर्दै जिम्मेवार पर्यटन विस्तार गर्नु पनि हो ।
मकालु हिमालले संसारलाई आफ्नो उचाइ र कठिनाइबाट आकर्षित गर्छ । तर यसको वास्तविक पहिचान हिमालको फेदीसम्म पुग्ने बाटो, त्यहाँको प्रकृति, स्थानीय मानिसको जीवन र पुस्तौँदेखि कायम रहेको आस्थामा पनि लुकेको छ । यही सम्पदालाई संरक्षण र प्रचार गर्न सके मकालु पूर्वी नेपालको मात्र होइन, नेपालको समग्र हिमाली पर्यटनको महत्वपूर्ण पहिचान बन्न सक्छ ।

















Discussion about this post