इटहरी : धरानको चारकोशे जंगलस्थित डम्पिङ साइटमा पटकपटक फोहोर डढाउँदा स्वास्थ्यसँगै वातावरणको जोखिम बढेको छ ।
फोहोरको थुप्रोबाट निस्किएको धुवाँले आसपासको वातावरण प्रदूषित बनाउनुका साथै स्थानीय बासिन्दाको स्वास्थ्यमा जोखिम बढाएको छ ।
तर, पटक–पटक आगलागी हुने र नियन्त्रणपछि घटना सेलाउने प्रवृत्तिले धरानको फोहोर व्यवस्थापन प्रणालीमाथि नै प्रश्न उठाएको छ ।
डम्पिङ साइटमा आगलागी हुनु धरानका लागि नयाँ घटना होइन । फोहोर थुपारिएको स्थानमा आगो लाग्ने, धुवाँ फैलिने र नियन्त्रणका लागि प्रयास गर्ने क्रम दोहोरिँदै आएको छ ।
हरेक पटक आगलागी नियन्त्रणमा आए पनि त्यसको कारण पहिचान गरी पुनः घटना हुन नदिने स्थायी उपाय प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिन्छ ।
आगलागी नियन्त्रण गर्नु तत्कालको आवश्यकता भए पनि त्यसले मात्रै समस्या समाधान गर्दैन । फोहोरको उचित व्यवस्थापन, साइटको नियमित निगरानी, आगलागी हुन सक्ने कारणको पहिचान र जोखिम न्यूनीकरणका उपाय लागू नगरेसम्म यस्ता घटना दोहोरिने सम्भावना रहन्छ ।
डम्पिङ साइटमा जम्मा हुने फोहोर व्यवस्थापनको चुनौतीसँगै आगलागीको जोखिम पनि जोडिएको हुन्छ । कुहिने र नकुहिने फोहोर मिसाएर थुपार्ने, फोहोर लामो समयसम्म खुला अवस्थामा राख्ने तथा व्यवस्थापनमा पर्याप्त सावधानी नअपनाउने अवस्थाले जोखिम बढाउन सक्छ । तर धरानको डम्पिङ साइटमा पछिल्लो आगलागी कसरी सुरु भयो भन्नेबारे सम्बन्धित निकायबाट स्पष्ट विवरण आउन आवश्यक छ ।
खासगरी धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले यसअघि त्यस क्षेत्रमा फोहोर डढाउन रोक्ने प्रतिबद्धता जनाएपनि दैनिक फोहोर डढाउँदा इटहरी र रामधुनी नगरको बस्ती प्रत्यक्ष प्रभावित बनेको छ ।
खासगरी आगलागीपछि निस्कने धुवाँले वातावरणमासमेत प्रत्यक्ष असर गरिरहेको स्थानीयले पटकपटक गुनासो गरिरहेका छन् ।
विशेषगरी डम्पिङ साइटमा विभिन्न प्रकृतिका फोहोर एकै ठाउँमा थुपारिएको अवस्थामा धुवाँको प्रभाव र त्यसमा मिसिन सक्ने हानिकारक पदार्थबारे पनि चासो बढ्छ ।
यस्तो धुवाँको सम्पर्कमा आउने स्थानीय बासिन्दा, फोहोर व्यवस्थापनमा संलग्न कामदार र आसपासका क्षेत्रमा आवतजावत गर्ने मानिसको स्वास्थ्य जोखिममा पर्न सक्ने भएपनि यसबारे कुनै समस्या सम्बोधन भएको छैन ।
















Discussion about this post