उदयपुर : उदयपुरको बेलका क्षेत्रमा लागूऔषध नियन्त्रणदेखि जघन्य अपराध र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउसम्मका अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक अस्वीन तोलाङ्गे कोशी प्रदेशको कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत तोलाङ्गेलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘सर्वोत्कृष्ट प्रहरी’ छनोट गरेको हो ।
तोलाङ्गेको नेतृत्वमा बेलका नगरपालिका–७ स्थित पित्लाङ जङ्गलबाट बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको दुई हजार ८२० किलो ५०० ग्राम गाँजा बरामद गरिएको थियो । सोही क्षेत्रमा करिब छ रोपनी जग्गामा लगाइएका दुई हजार २०० गाँजाका बोटसमेत फडानी गरी नष्ट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, बेलका नगरपालिका–३ स्थित गिदेरी खोलाको कासघारीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोप लागेका फरार प्रतिवादी समिर परियारलाई खोजतलास गरी पक्राउ गर्न पनि तोलाङ्गे सफल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी बेलका नगरपालिका–९ रामपुर बजारमा पैदलयात्री ५६ वर्षीया लक्ष्मीमाया राईको मृत्यु हुने गरी भएको सवारी दुर्घटनापछि फरार बोलेरो गाडी र चालक प्रेमबहादुर विकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन उनले भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।
यी घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ तथा लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र व्यावसायिक कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
















Discussion about this post