इटहरी : सुनसरीको धरानमा एउटै घरमा डेरा गरी बस्ने पाँच जनाको साथबाट ब्राउनसुगरसहित ठूलो परिमाणमा विभिन्न प्रतिबन्धित औषधी बरामद भएको छ ।
धरान उपमहानगरपालिका–१४ हात्तीसार पथस्थित राजकुमार डंगोलको घरबाट प्रहरीले मंसिर ४ गते पाँच जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्लास्टिकबाहेक १२४ ग्राम ४७ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागूऔषधमध्ये नाइट्राजेपाम ४४५ ट्याब्लेट, स्पास्पेन ६५ ट्याब्लेट र ट्रामोल १५ क्याप्सुल छन् । एउटै स्थानबाट लागूऔषध र विभिन्न प्रकारका औषधी बरामद भएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागूऔषध नियन्त्रण ब्युरो (पीआईटी) टोली र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले दिउँसो करिब ३ बजे घरमा छापा मारेको थियो ।
पक्राउ पर्नेमा धरान–१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू छन् ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ । उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post