काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त रूपमा शिलान्यास गरेका छन्।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले भर्चुअल माध्यमबाट सङ्खुवासभामा निर्माण हुने आयोजनाको शिलान्यास गरेका हुन्।
नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ। करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ। आयोजना विकास सम्झौताअनुसार उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ भने २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत आयोजना विकास भइरहेको हो। नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता भएको थियो।
आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ। अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्याएर थप विद्युत् उत्पादन गर्ने योजना छ।
आयोजना निर्माणका लागि जग्गा अधिग्रहण तथा प्रभावित परिवारलाई मुआब्जा वितरण भइरहेको छ। प्रत्यक्ष प्रभावित २६८ परिवारमध्ये हालसम्म २५३ परिवारलाई करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको आयोजना विकास कम्पनीले जनाएको छ।
आयोजनाबाट नेपालले निःशुल्क ऊर्जा, रोयल्टी, कर तथा अन्य आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। निर्माणका क्रममा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
















Discussion about this post