लामो लकडाउनले सिथिल भएको मन र मस्तिष्कमा आएको एउटा योजनाको लागि जङ्गल जाने निधो भयो ।
म सहित ध्रुव घिमिरे, चण्डिका नेपाल र ज्ञानु न्यौपाने २०७८ जेष्ठ २८ गतेका दिन बिहानै इटहरी २० तरहराको पानीपियाबाट मास्तिर लाग्यौँ । चारकोसे जंगलको बाटो । चारकोसे जंगलमा आजभोलि जंगली जनावर घटेका छन्, चराचुरुङ्गी घटेका छन् । आजभोलि बाँदर पनि देख्न दुर्लभ हुँदैछ ।
कारण के होला ? खुलदुली थियो, मनमा ।
अलिक माथि गएपछि सडकको पश्चिम पट्टि एउटा साइनबोर्ड देखियो । हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको बोर्ड थियो, त्यो । बोर्डमा जडिबुटी विकास कार्यक्रम लेखिएको थियो । खुशी लाग्यो । जात–हर्रो, बर्रो, अमला, बेल, राजवृक्ष, तेजपत्र, जामुन, सर्पगन्धा, घ्यू कुमारी, सुगन्धित तेल प्रजातीहरु लेखिएको थियो ।
यो पढेर अझ खुशी लाग्यो ।
बोर्डमा, एक लाख विरुवा उत्पादनको लक्ष्य र दशलाख तेह्र हजार लागत पनि लेखिएको छ । र, त्यो पुनीत कार्यको अनुगमन– तरहरा सब डिभिजन कार्यालय पनि लेख्न छुटाइएको छैन । यस्तो असल कामको दर्शन गर्नुपर्छ भन्ने लाग्यो ।
र, हामी अलिक भित्र गयौं । ५/७ वटा काठका टुक्रा प्रयोग गरेर बनाएको गेटपार गरेर भित्र पस्यौं । दुईजना मान्छेहरु त्यहाँ निगुरो टिप्दै थिए । यो के हो ? हामीले सोध्यौं । ‘नर्सरी’ उनीहरुले सहजै उत्तर दिए ।
हो, नर्सरी नै रहेछ ।

एक ठाउँमा डेढ, दुई सय जति जामुनका विरुवा थिए । तिनीहरुको पनि सार्ने समय भड्किन लागिसके जस्तो देखिन्थ्यो । अलिक परतिर ३०० स्वारफुट जतिजग्गामा २/४ वटा सर्पगन्धा र अन्य केही विरुवा भरखर हुर्कदै थिए ।
त्यहीँनेर हुर्किएका केही जामुनका विरुवा देखिए । तर, झार जंगल वनमाराले ती विरुवालाई छपक्कै ढाकेको थियो । त्यस्को माथि केही काठका डाँडा भाटा जस्ता देखिए, यसले त्यहाँ विरुवामाथि छाप्रो बनाइएको थियो, भन्ने थाहा हुन्थ्यो ।
निगुरो टिप्दै गरेका मान्छेलाई मैले सोधेँ–यो नर्सरी सँग भाइको सम्बन्ध छ ? ‘छ । म कर्मचारी हुँ’ उनले भने ।
अरु के के छ यहाँ ? फेरि सोधे । ‘यहाँ त यति नै हो, अलिक माथि दुई वटा नर्सरी छन् ।’ उनले जवाफ फर्काए । उनले भनेको नर्सरी हेर्न मन लाग्यो, र हामी त्यता मोडियौँ ।
सडकबाट अलिकति पश्चिमतिर पसेपछि रुख नभएको खाली ठाउँ रहेछ । जमीनमा फैलिएको झारबाट छानेर एउटा झार हातमा लिएँ । र, मिचेर सुँघे । त्यो चै लेमन ग्राँस नै रहेछ । त्यो बाहेक अरु पनि दुईचार वटा बुटा देखिए लेमन ग्रासका । तर, अरु झार जंगलको साम्राज्यभित्र ।
त्यो बोर्डमा लेखिएको एक लाख बिरुवाको लक्ष्य सम्झिएँ, दशलाख तेह्र हजार लागत सम्झिएँ । वन कार्यालय भनेको सरकार हो । र, वन उपभोग्ता समिति भनेको जनता हो ।
जनता र सरकारले गरेको कामको यो अवस्थाले के भनिरहेको थियो, भने यो देशमा सरकार मात्र बदमास होइन, जनता पनि कम छैनन् ।
मलाई त्यो निगुरो टिप्दै गरेको कर्मचारीको नाम सोधेर यहाँ लेखेर अपमान गर्न मन लागेन । किनभने, त्यो कर्मचारी भन्दा माथि त्यहाँ वन कार्यालयका हाकिम छन् र वन उपभोक्ता समितिका वरिष्ठ पदाधिकारीहरु पनि छन् ।
Discussion about this post