‘गणतन्त्र जस्तो राम्रो व्यवस्था’ अहिले यो मान्यतालाई जबरजस्ती स्थापित गर्न खोजिदैँछ ।
शासकहरूका गणलाई यसको प्रचार गर्न, समर्थन गर्न र अन्धभक्ति गाउन प्रेरित गरिदैँछ । त्यसैले होला अबुझ सठहरूले पनि गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भन्न सक्छन् । तर, किन उत्कृष्ट, कसरी उत्कृष्ट, के गर्दा उत्कृष्ट ? यो चाहिँ बुझ्दैनन्, तर बुझ्न जरूरी छ ।
गण भनेको समूह हो । समूह राम्रा मान्छेको पनि हुन्छ र नराम्रा मान्छेको पनि हुन्छ । भाला तरवार लिएर ग्याङ् फाइट गर्ने पनि समूह हुन् र तिनीहरूलाई छुट्याउने पनि समूह हुन् । देवताहरूको पनि गण थियो र राक्षसहरूको पनि गण थियो । प्रजा भनेको पनि गण नै हो, प्रजातन्त्र भन्नु र गणतन्त्र भन्नुमा केही फरक छैन । हाम्रो देशमा प्रजातन्त्र फालेर गणतन्त्र ल्यायौं भन्नु मनोगत भ्रम मात्र हो ।
प्रजातन्त्र र गणतन्त्रको अर्थ एउटै हो । जनताद्वारा छानिएको प्रतिनिधिद्वारा शासन सञ्चालन । प्रजातन्त्रमा संवैधानिक राजतन्त्र पनि अटाउन सक्छ जस्तै जापान, बेलायत, क्यानडा, अष्ट्रेलिया, नेदरल्याण्ड आदि सम्पन्न मुलुकहरू संवैधानिक राजतन्त्र भएका मुलुकहरू हुन ।
उत्तर कोरियालाई प्रजातान्त्रिक जनवादी गणतन्त्र भनिन्छ । त्यहाँ शासकको छोरा शासक छन् । निरङ्कुश राजशाही भन्दापनि कडा निरङ्कुशतामा प्रजातन्त्र जोड्नु भनेको पनि स्वच्छन्दतावादीले फैलाएको भ्रम मात्र हो ।
गण भनेको अनुचर सेवकहरूको समूह पनि हो । त्यसैले गणतन्त्र भन्ने बित्तिकै शासन असल भइहाल्छ भनेर बुझ्नु गलत हुन्छ । त्यो गण बदमासहरूको गण पनि हुनसक्छ । कालाबजारी ठेकेदार विचौलिया ठगहरूको गण पनि हुन सक्छ ।
त्यस्ता गणको हातमा शासनसत्ता गयो भने के हुन्छ ? राष्ट्रभक्ति नभएका स्वार्थन्धहरूको हातमा सत्ता पुग्यो भने के हुन्छ ? पराया विदेशीका अनुचर सेवकहरूले सत्ता कब्जा गरे भने के हुन्छ ?
आजका शासक र तिनको शासन सञ्चालन हेर्दा, सत्ता र शक्तिलाई स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति हेर्दा, त्यस्ता गलत गणको हातमा गणतन्त्र पुग्दैन भन्न सकिने ठाउँ रहेन ।
त्यसैले भनेको हो गणतन्त्र भन्नेबित्तिकै सर्वोत्कृष्ट व्यवस्था हुन्छ भनेर मान्नु नै सर्वथा गलत हुन्छ ।
विश्वका सर्वाधिक बढी जनसंख्या भएका चीन र भारत दुवै देश गणतान्त्रिक मुलुक हुन् । चीनले आर्थिक नीति खुकुलो बनायो र राजनीति कसिलो बनायो । यसै नीतिबाट उसले आर्थिक समृद्धि हासिल ग¥यो । भारतले आर्थिक नीति र राजनीति दुवै खुकुलो बनायो ।
त्यसैकारण केही ढिलो भएपनि भारत समुन्नतिको तीव्र गतिमा छ । संवैधानिक राजतन्त्र भएका देशहरूले भने धेरै पहिले आर्थिक समुन्नति हासिल गरिसकेका छन् ।
कुनै समय कोरिया, जापान, मलेसियामा धान चामल निर्यात गर्ने नेपाल आज छोराछोरी विदेश निर्यातक देश भएको छ । जनताका छोराछोरीलाई विदेशीको गुलाम बनाएको रेमिट्यान्सबाट तलब, भत्ता खाएर गर्विलो डकार डकार्ने भूमिकामा पुगेको छ, हाम्रो लोकतान्त्रिक गणतन्त्र ।
आज सत्य बोल्नेलाई प्रतिगामी भनिदिएपछि सत्ताका अनुचर सेवकहरूले ताली बजाइहाल्छन् ।
र, पनि कटुसत्य चाहिँ के हो भने प्रजातन्त्र आएपछि हामी दुई कदम पछाडि स¥यौं । र, गणतन्त्र आएपछि पचास कदम पछाडि प¥यौं । किनभने शासनमा देवत्वको अंश भन्दा राक्षसी अंश बढी भयो ।
सज्जनको उपस्थिति भन्दा दुर्जनको संख्या बढी भयो । ठेकेदार, बिचौलिया र विधर्मीहरूको हातमा गणतन्त्र गयो । अनि गणतन्त्र भन्ने वित्तिकै व्यवस्था राम्रो नहुने रहेछ भन्ने कुरा पुष्टि भयो ।
Discussion about this post