नेपालमा सहकारी भन्ने वित्तिकै बखानसिं गुरुङको नाम आउँछ । अझ भनौ बखानसिं गुरुङको नाम नलिई नेपालको सहकारीको इतिहास नै पूरा हुँदैन ।
२००९ सालतिर तनहूँको पुलिमराङबाट चितवन बसाईँ सरेका बखानसिंले २०१३ चैत्र २० गते बखान सहकारी संस्था गठन गरेका हुन । त्यो ६९ वर्षीय संस्था आजपनि चितवनको शारदानगरमा छँदैछ ।
सहकारीको अवधारणा त सन १८४४ तिर नै बेलायतमा विकास भएको थियो । बखानसिं गुरुङ पनि त्यही अवधारणाबाट प्रेरित थिए होलान् भनेर मान्न सकिन्छ । तथापि, बखान सहकारी खोल्न उनलाई उनको आफ्नै परिवेशले बाध्य पारेको थियो ।
२०११ सालतिर खण्डवृष्टि र अनावृष्टिले ठूलो अकाल पर्न गयो । बखानसिंको पुरानो गाउँ पुलिमराङ झन् आक्रान्त थियो । त्यहाँका मान्छेहरूलाई चितवन आओ यतै झाडी फाँडेर जीविका चलाउँला भने उनले तर औलोको डरले आउन मानेनन् पहिले ।
आखिर अकालसँग केही चलेन उनीहरूको, पुलिमराङबाट धेरै मान्छे चितवन बसाईं सरे ।
पुलिमराङबाट बसाईं सरेर धेरै मान्छे आएपछि बखान बा (जीवनको उत्तरार्धमा उनलाई सबैले बखान बा नै भन्थे) माथि जिम्मेवारी थपिएको थियो । आँफू भनेर आएका मान्छेहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने चुनौती पनि थियो ।
कलियुगमा सङ्घेशक्तिको महत्व बुझेका उनले ती मान्छेहरूको सीप, क्षमता र शक्तिलाई एकत्रित गरेर समुदायको हित गर्ने उद्देश्य राखे र तिनै मान्छेहरूलाई संगठित गरे अनि बखान सहकारी संस्था गठन गरे ।
राणाविरूद्धको क्रान्तिमा नेपाली कांग्रेसको तर्फबाट लडेका ऐतिहासिक योद्धा बखान बा का दुई छोरामध्ये एउटा छोरा २००७ सालको क्रान्तिमा मारिए र अर्को छोरा ०१८ सालमा मारिए ।
पञ्चायती शासनले स्वयम् बखान बा लाई सर्वस्वहरण गरी आजन्म कैद गरिदियो । सहकारीका प्रथम अभियन्ताको जीवन गाथाको संकेत मात्रै हो यो आजको विषय त सहकारी नै हो ।
सहकारीको अवधारणा भनेको अवसर र सुविधाबाट वञ्चित समुदायका मान्छेहरूलाई एक ठाउँमा ल्याउने, उनीहरूको सीप, दक्षता, स्रोत र शक्तिलाई एकत्रित गरेर त्यसैबाट उनीहरूको आर्थिक, सामाजिक र वौद्धिक उन्नति गर्ने अत्यन्तै वैज्ञानिक अवधारणा हो ।
देशको एउटा आर्थिक खम्बा पनि हो सहकारी । तर जहिलेसम्म सहकारी नीति र नियमभित्र रहेर संस्था चल्छ त्यहाँसम्म समुदायको अर्थात् आफ्नो सदस्य परिवारको भलो गर्न सक्छ सहकारीले । तर आजको दृश्य फेरिदैँ गएको छ । आज ब्याज खाने परम्परागत साहुजस्ता भएका छन्, कतिपय सहकारी संस्थाहरू ।
समुदायको हितको लागि काम गर्ने सहकारीमा अरबौं रुपैयाँको कारोबार जरूरी छैन । तर, विडम्वना नै भन्नुपर्छ कतिपय सहकारी संस्थामा अरबौं अपचलन र ठगी भएका समाचारहरू आइरहेका छन् ।
अरबौ भ्रष्ट्राचार हुनका लागि कति अरब पैसा हुनुपर्छ ? कार्यक्षेत्रभित्र बसोवास भएका सदस्यसँग मात्र कारोबार गर्न पाउँछ सहकारीले । तर यो अरबौं रुपैयाको स्रोत के हो ? कि कालो धन सेतो बनाउने यन्त्र हो सहकारी संस्था ? राज्यले चासो राख्नु पर्ने हो यसमा तर राख्तैन ।
चासो नराख्नुले राज्य सञ्चालनमा सहभागीहरू नै सहकारीमा कालो धन राख्छन र सहकारीको पैसा पनि उनीहरू नै अपचलन गर्छन् भन्ने देखिन्छ । हैन भने सहकारी बोर्ड के हेरेर बसेको छ ? सहकारी विभाग सहकारी ठगीको साक्षी मात्र किन बसिरहन्छ ?
आज जुन शैलीबाट सहकारीहरू सञ्चालन हुँदैछन् । यसलाई नियन्त्रण र सुधार नगर्ने हो भने कुनै सहकारी पनि विश्वास गर्न योग्य रहने छैनन् । आम जनताले सहकारीसँगको आवद्धता त्याग्ने दिन आउने छ । समाप्त ।
Discussion about this post