२०१९ डिसेम्बरमा चीनको वुहान सहरमा कोरोनाको कहर हुँदै गर्दा हामीलाई कोरोना थोरै डर र धेरै मजाक को विषय थियो ।
जब कोरोनाको प्रकोप युरोपतिर पुग्यो, तब मजाक कम र डर ज्यादा बन्दै गयो । त्यसपछिका समय क्रम त कोरोनाले आफ्नो फैलावट जति जति बढाउदै लग्यो त्यति नै प्रकारका बुझाई र मानिसहरुका तर्क वितर्कहरुका क्रम आज पनि जारी नै छन् । विचार र तर्कहरुको अन्तिम किनारा त समयक्रममा लाग्ने नै छ ।
यो बीचमा मानिसले भोगेका दुःख, अफ्ठ्यारा र चुनौतीका अनेकन पाटा पनि उजागर हुने क्रम चालिने रहेकोछ ।
त्यस्तै यो ६ महिने अबधिमा विद्यार्थी नेताबाट स्वाब संकलनको अभियान अनि आँफू संक्रमित बन्दा सम्मको घटनाक्रमलाई आइसोलेसन वार्डमा बसेर शब्दमा उतार्ने कोशिस गरेको छु ।
नेपालमा पहिलो पटक कोरोनाको संक्रमण देखा परेसंगै राष्ट्र व्यापी रुपमा नेपालमा लकडाउनको घोषण हुँदै गर्दा क्याम्पस नियमित सूचारु नै थियो । बिद्यार्थी राजनीति र अध्ययनका काम सामान्य नै थिए ।
आँफू माईक्रोवायोलोजी विषयको बिद्यार्थी भएकोले हामी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारबाट माईक्रोवायोलोजी टिमले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप जनचेतनामूलक कार्यक्रम धरान उपमहानगरपालिकाका विभिन्न वडाहरुमा गर्दै थियौँ । सेनिटाइजरको हाहाकार मच्चिरहेको बेला घरमा नै हेन्ड सेनिटाइजर समेत बनाउने तालिम दिदै थियौँ ।
कोभिड १९ ले नेपालमा मार्च १६ मा पहिलो पटक एकजना व्यक्तिको ज्यान गएको खबरले हामी सबैमा बेग्लै किसिमको त्रास सृजना भएको थियो । लकडाउनको अन्त्य कहिले हुने भनें अलमल परेका बेला यो बीचमा धरानमा बिद्यार्थी साथीहरुलाई आफ्नो घर जाने बन्दोबस्तको सहजीकरण पनि हुदै थियो ।
नेपालमा लकडाउन अलिक खुकुलो हुँदै गर्दा धरानमा पनि कोरोनाको संक्रमण देखा पर्न थाल्यो ।
एक दिन बेलुका धीरेन सरको कल आयो – ‘हामीलाई नगरपालिकाले कोरोना परीक्षणका गर्न स्वाब संकलनका लागि पत्र पठाएको छ । तिमीहको टिम तयारीमा जुट्नु ।’
म अलमल्लमा परेँ के गर्ने ? कसो गर्ने ? म होस्टलमा बस्ने भएकोले क्याम्पस प्रशासनलाई यस बिषयमा जानकारी गराइयो । प्रशासनका तर्फबाट हेमन्त सरले हामीलाई सल्लाह दिदँ प्रोत्साहन गर्नुभयो । हामी माइक्रोबायिलोजीका विद्यार्थीहरुलाई जनाताको डर भन्दा पनि सेवा गर्ने मौका हो भन्ने लाग्यो । मनमा डर र कर्तब्य बोधको आभास एकै चोटी भईरहेको थियो ।
भोलिपल्ट बिहान धरान उपमहानगरपालिकाबाट उमेश सरको कल आयो हामी नगरपालिकाको गाडीमा चढेर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लाग्यौँ । मनमा धेरै प्रश्नहरु उब्जिए । अखबार, रेडियो, टेलिभिजनका खबरले हामीलाई त्रसित बनाइरहेको थियो । लाखौँ मानिस दिनहुँ सक्रमित भएका र मृत्युका खबरहरु सामान्य बन्न थालेको बेला आँफू पनि संक्रमित भइने त होइन भन्ने डर पनि थियो ।
अनुहारमा त्यो डरको भाब नदेखाउने प्रयत्न सहित झ्यालबाट नियाल्दै थिएँ प्रतिष्ठानको गेट पुगेपछि पो झस्किएँ । जब कोभिड हस्पिटल नजिकै हाम्रो गाडी रोकियो स्वास फुलेर आयो म सँग गएका साथीहरु आकृति र मोजेसलाई हेरेँ । उनीहरुको अनुहारमा डर स्पष्ट देखिन्यो । डर लुकाउने मेरो प्रयास पनि अब भने विफल भइ सकेको थियो ।
हामीले अध्ययन त धेरै गरेका थियौँ । तर, कोरोना संकास्पद व्यक्तिहरुको स्वाब लिनुपर्ने थियो । त्यसमाथि स्वाब संकलन टिमको संयोजकको जिम्मेवारी, आँफूलाई निडर र शान्त देखाउनु थियो । हामीलाई जनताको सेवा गर्ने यो भन्दा ठूलो अवसर आज सम्म मिलेको थिएन । यो अवसर गुमाउने पक्षमा थिएनौँ । त्यसैले मनोबल निकै दरो बनाएर काम गर्ने निश्चय गर्यौं ।
कोभिड अस्पतालमा स्वाब संकलन गर्नेको भीड देखेर हाम्रो टिम झन अक्कन बक्क भएको थियो ।
के गर्न के नगर्ने पत्तै भएन ? निकै गहिरो सोचमा म हराउन थालेँ । तर, स्वाब संकलन गर्नेको चाप देखेर जनशक्ति कम भएको महसुस भयो । हामी ३ जनाले यति धेरै मानिसको चाप थेग्न सक्ने अवस्था पनि थिएन । पछि प्रतिष्ठानकै साथीहरु, ससाङ्क, फेमी, मनिसा सहयोगीको रुपमा आउँनुभयो ।
हामीले पहिलो पटक पीपीई लगाउँदै गर्दा शरीर निकै काँपिरहेको थियो । हातहरु चेत हराएको मानिस जसरी नाचिरहेका थिए ।
प्रचण्ड गर्मीको ढाडसमा पीपीई लगाएर निरनतर ५ घण्टा सम्म स्वाब लिदाँ हाम्रो शरीरमा पानीको मात्रा निकै कमी भएछ । मलाई रिङ्गटा लाग्न थाल्यो । मैले निस्पट अध्याँरो मात्र देखेँ । एकजना साथीले मलाई कुर्सीमा राख्नु भएछ । बिस्तारै पीपीई खोल्न थाले जब पीपीई खोलँ मैले हतार–हतार लानो लामो श्वास लिएँ । त्यसदिन हामीले २९२ जनाको स्वाब संकलन गरेका थियौं ।
दोस्रो दिन एन्फा क्वारेन्टिनमा हामी स्वाब संकलन गर्न गएका थियौँ । काम गर्दै जादाँ संक्रमितको चाप बढेकोले हाम्रो टिम अझ ठूलो र मजबुद बनाउनपर्ने भयो । नगरपालिकाले आफ्नो स्टाफ लुना म्याम र चन्द्रकला म्याम पठाउनुभयो ।
हाम्रो टिमबाट मिसा र साहिलहरु सहितको एकमुष्ट टिम बनाएर काम गर्न थालेको झन्डै ३ महिना भइसक्यो । आजसम्म करीब ५ हजार भन्दा धेरैको स्वाब संकलन गरिसकेका छाँै । १ हजार ७ सय बढी संक्रमित भएका छन् ।
अहिले पनि धरान उपमहानगरपालिका भित्रका सबै संकासपद र लक्षण देखेकाहरुको हामीले नै स्वाब संकलन गरिरहेका छौं । यो हाम्रो लागि एउटा चुनौती र जोखिमपूर्ण कार्य छ ।
तर, धेरै कुराको अनुभव बटुल्ने अवसर पनि मिलेको छ । कोरोना बिरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई हौसला दिन धरानकी उपमेयर मन्जु भण्डारीले आफ्नो जन्मदिन हामीसँग मैदानमा नै आएर मनाउनुभयो । यो हाम्रो लागि सम्मान, प्रोत्साहन थियो ।
नेपालको अरु विभिन्न ठाउहरुमा स्वास्थ्यकर्मीहरुलाई घृणित नजरले हेरेपनि धरान उपमहानगरपालिका र धराने जनताले जहिल्यै पनि माया र सम्मान दिईराखेको अवस्था छ ।
यतिबेला अत्यधिक रुपमा संक्रमित बढेकाले होम आइसोलेसनमा बस्ने कोरोना पोजेटिभहरुलाई ‘एक व्यक्ति एक स्वास्थ्यकर्मी’ दिने अभियान चलाउन सुरुवात गर्यौँ । आजसम्म होम आइसोलेसनमा बस्नुभएका ३ सय ५० भन्दा माथि संक्रमितलाई हामीले परामर्श र स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्य गरिरेका छौँ ।
नेपालको एक मात्र क्याम्पस केन्द्रीय प्रविधि क्याम्पसमा पढाइ हुने पोषण तथा आहार विद्हरुले होम आइसोलेसनमा बस्नु भएका जो कोही बिरामीलाई न्युट्रिसन थेरापी जस्मा रोगप्रतिरोधात्मक क्षमतालाई कसरी वृद्धि गराउने भन्ने बिषयमा र कोरोनाका लागि स्पेसल डाइटचाट बनाएर धराने जनतालाई टेवा पुर्याउनदै आएका छन् ।
बाँकी हात्तीसारका माईक्रोवायोलोजी र धरान मेडिकल टिमले संयुक्त रूपमा मेडिकल काउन्सिल गरिरहेका छ ।
कोरोना बिरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई तुच्छ नजरले हेर्ने, घरको बार्दलीबाट टीका टिप्पणी गर्नेहरु पनि धेरै थिए । तर, हामीले अध्ययन गरेको बिषय नै यस्तो थियो कि कुनै न कुनै दिन चिकित्सा प्रयोगशालामा काम गर्नु नै पर्ने थियो । यति चाँडो नै हामीले यसरी कोरोना बिरुद्धको अभियानमा संलग्न भएर काम गर्न पाउँने कुरा चै पत्यार लाग्दो थिएन ।
अहिलेको स्थितिमा हामीजस्ता मेडिकल ब्याग्राउड भएका विद्यार्थीहरुले देशका जनताको सेवा गर्न पाउने मौका पनि हो । हामी विद्यार्थीहरुलाई यस्तो परिस्थितिमा सेवामूलक काम गर्दै गर्दा व्यावहारिक शिक्षा प्रति चासो र भोलिका दिनमा अझ शशक्त ढंगले खोजमुलक अनुसन्धान गर्नमा समेत प्रेरित गर्दछ ।
अहिलेको विषम् परिस्थितिमा धरान काम गर्दै गर्दा हाम्रो टिमका साथीहरुलाई पनि कोरोना पोजेटिभ भयो । म स्वयम् होम आइसोलेसनमा बसिरहेको छु । हामी उच्च मनोबलका साथ स्वास्थ्यलाभ लिईरहेका छौँ ।
अन्त्यमा उचित अवसर र प्रशंसा पाएको अवस्थामा मानिसले जस्तो सुकै चुनौती पनि पार गर्न सक्छ ।
यदि हामीले आँफूसंग भएको जनशक्तिलाई सही तवरले प्रयोगमा ल्याउँन सकेमा कोरोनाबाट बच्न मात्र होइन, ठूलो जनधनको क्षति हुनबाट बच्न सक्ने काम गर्न सकिन्छ ।
स्वास्थ्य क्षेत्रमा अनवरत खटिने जनशक्तिलाई आफ्नै माटोमा निर्धक्क साथ काम गर्ने वातावरण हुने हो भने कोभिड १९ मात्र होइन भवितब्य परेको जुनसुकै अवस्थामा पनि महामारीलाई परास्त गर्न सकिन्छ ।
प्रधान केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा माइक्रोबायोलोजी, स्वाब संकलन युनिटका संयोजक हुन् ।
















Discussion about this post