नटूसाई नअंकुराई चुपचाप बसिरहेको समयलाई,
कसरी भन्न सकिन्छ असार ?
पहाडको छातीमा पहिरो झर्दैमा
अनि खोलो धमिलो हुँदैमा,कहाँ भन्न सकिन्छ असार ?
असार आउनलाई त टुसाउनुपर्छ सुनौला भविष्यका सम्भावनाहरू,
अंकुराउनुपर्छ पौरखका पसिनाहरू,
फोरिनुपर्छ कु–संस्कारका बाँझाहरू
अंगेरी फुल्दैमा अनि झ्याउँकीरिले गाउँदैमा ,
हरियो वस्त्र पहिरिदैँमा, र दही चिउरा खादैंमा
कहाँ आउँछ असार ?
असार आउनलाई त
आउनुपर्छ भानुजयन्ती अनि लेखिनुपर्छ नेपाली मनमा खुसीका हरफहरू
गाइनुपर्छ असारे भाका अनि रंगिनुपर्छ विधुवाका सिउँदो
बङ्गालको खाडीबाट आएको बादल वर्षा बनेर झर्दैमा,
पहाडको कोखमा मूल फुट्दैमा,
अनि पाखाहरूमा सिरुका मुनाहरू पलाउँदैमा,
कहाँ आउँछ असार ?
पटपटी चिरिएका खेतका गह्राहरूमा
सपनाका बीउहरूले घुँडा टेक्दै गुहार मागिरहेका बेला, खै कहाँ आएको छ असार ?
असार आउनलाई त, फुट्नुपर्छ विकासका मुलहरू, टुट्नुपर्छ पुरातन सोचका ढिस्काहरू,
गाभो बनेर रोपिनुपर्छ किसानको रहरले सपनाका बीउहरू ।
परिवारको खुसी किन्न बाकसभरप् पैसा कमाउन गएको छोरो, आफैँ काठको बाकसमा लास बनेर फर्किएपछि,
औषधि निल्न एक घुट्को सुद्द पानी समेत नभएपछि, गरीबको छाकको ग्यारेन्टी नभएपछि, कहाँ आउँछ असार ?
असार आउनलाई त, ठडिनुपर्छ स्वाभिमानको सगरमाथा,
ढाकिनुपर्छ शान्तिका आकाशले,
लुकेको हुनुपर्छ समृद्विभित्र आमजनताको सन्तुष्टि
बिक्रीमा छन् यहाँ मौलिक संस्कृतिका धरोहरहरू
रोइरहेका छन् लिपियाधुरा, कालापानी र सुस्ताहरू
सिथिल छ देश ऋणको भारीले,
विदेशिएका छन् राष्ट्रका मेरुदण्डहरू,
अनि कहाँ आउँछ असार ?
असार आउनलाई त
पुछिनुपर्छ ती वृद्ध आमाका आजस्र आश्रुधारा
फक्रन पाउनुपर्छ ती नवोदित कोपिलाहरू
सुरक्षित हुनुपर्छ देशका सीमाहरू
न्याय पाउनुपर्छ निर्मला पन्तहरूले
कोरिनुपर्छ देशको सुनौला भविष्यका रेखाहरू
अनि पो, अनि पो आउँछ असार ।
तब पो छाउँछ खुसियाली
(इटहरीको प्रिमियर ग्लोबल स्कुलमा कक्षा १२ मा अध्ययनरत कार्कीको यो कविता हिसान सुनसरीले आयोजना गरेको कविता प्रतियोगितामा विजयी भएको हो ।)
Discussion about this post