गोठको रात
करिब १, २ बजेको हुँदो हो । हिमाली भेगको एउटा गोठमा थियौँ, मस्त निदाइरहेको । एक्कासी निंद्रा टुट्यो । बाहिरबाट निरन्तर मधुरो एउटा आवाज आइरहेको थियो… “ट्ङ…डङ…डङ…डङ…” मानौ कुनै गुम्बामा लामाले घण्ट बजाइरहेको होस् एक धूनमा । मानौ, आनी छोयोङ् डोल्माको गीतको ‘इन्स्ट्रुमेन्टल भर्सन’ बजिरहेको होस् । टाढा कतै । निरवता चिर्दै…
दोहोरी सिट
असोज २८ गतेको बिहान सखारै हामी भानुचौकको बस पार्कमा थियौ । ताप्लेजुङको फुङलिङ जाने गाडि पर्खिरहेका । फोटोग्राफीका हाम्रा गुरु वीरेन सुब्बा र उनको विद्यार्थी म ।
दशैँको रौनक र त्यसको चटारोलाई भर्खरै मात्रै बिदा गरेको धरान थाकेर मस्त निदाइरहेको थियो । हामी भने त्यहि चटारोलाई जिस्काउँदै अर्को चटारोको खोजीमा थियौँ । चटारो यात्राको । चटारो १० दिनको यात्रामा हुने ७ दिनजस्तो पदयात्राको ।
चटारो नपुगेको ठाउँमा पुग्नुको लागि मन हतारिनुको । चटारो त्यस ठाउँले दिने रोमाञ्चकताको । चटारो रमाइला दृश्यहरु दृश्यपान गर्न पाउने हतारोको । चटारो नयाँ मान्छेहरु भेट्नुको । चटारो नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ सँस्कृतिसँग साक्षात्कार हुन पाउनुको । त्यही चटारोहरुबिच दिमाग गोलगोल घुमिरहेको थियो । त्यही बेला ड्राइभर आएर हामी चढेको गाडीको स्टेयरिङ घुमाउन थाल्यो ।
गाडीको ड्राइभरको सहायक निकै रसिक रहेछ । गाडी कुद्न शुरु हुने बितिक्कै उसले दुईरिल हसायो । कुरा के भयो भने गाडीमा भानुचौकबाट चढ्ने हामी दुईमात्रै थियौँ ।
बाझगराबाट हाम्रै साथी युनिक फोटोग्राफी धरानका अर्का विद्यार्थी फोटोग्राफर जीवन होक्पाचोङ्वाङ् चढेपछि गाडीमा जम्मा ड्राइभर र सहायकबाहेक हामी तीनजना भयौँ । गाडी भने थियो १२ सिटे । मैले जिस्काए, “हन के हो ? ताप्लेजुङ पुग्ने हामी तीनजना मात्रै हौँ कि के हो ?”
सहायकले हत्त न पत्त भनिहाल्यो, “कहाँ होन्त दुजु ? दशै…को बेला पो हो त यो । सिजन पो हो हाम्रो । चमेरा सिट, मुढा सिट र दोहोरी सिट पनि प्याक छ नि त हो । चढ्नेहरु छ नि इटहरी र बिर्तामोडतिर ।”
चमेरा सिट भनेको झुण्डिएर र मुढा सिट भनेको मुढामा बसेर यात्रा गर्नु पर्ने बुझेका हामी दोहोरी सिट भन्ने नयाँ नाम सुनेर छक्क पर्यौँ र सोध्यौँ, “यो दोहोरी सिट भनेको चाहिँ कुन चाहिँ सिट हो नि फेरि ?”
सहायकले उत्तर दियो, “सबैभन्दा पछा…डि दोहोरी गाउने पोजिसनमा मुखामुख गरेर बस्नु पर्ने सिट ।” उसको कुरा सुनेर हामी तोडले हास्यौँ ।
उसले कन्दै अझ थप्यो, “काँ हो अन्त… त्यो सिटमा बसेर यात्रा गर्नेमा उस्तै तरुनीतन्नेरी पर्यो भने त फुङ्लिङ् पुग्दा नपुग्दै लभ नै पर्छ नि त हो…”
सहायकको धराने ‘टोन’ र उसको मजाको ‘सेन्स अफ ह्युमर’ बुझेर हामी हाँस्यौ । हामी हाम्रै ‘अन्डरस्ट्याण्डिङ अफ ह्युमर’ सोँचेर पनि मरिमरि हाँस्यौ । त्यहिमाथि ड्राइभर पनि रसिक थिए । जोकहरुको सृङ्खलै चल्यो यात्राभरि । हाँस्दै पुग्यौँ फुङ्लिङ् । हाँसोले यात्रा छोट्याउने रहेछ । हाँसोले यात्राको बोझिलपनलाई पर भगाउँदो रहेछ । ९, १० घण्टाको लामो यात्रा २, ३ घण्टामा टुंगिएकोजस्तै अनुभव भइरहेको थियो हामीलाई ।
करिब ४ बजेतिर हामी फुङलिङको ‘स्नो लियोपार्ड’ होटेलमा थियौँ । यो यात्राको हाम्रो अन्तिम सहयात्री, युनिक फोटोग्राफी धरानका अर्का विद्यार्थी फोटोग्राफर भाई विशाल थेबे दिउँसै त्यहाँ पुगिसकेको थियो । उसले कोठा बुक गरिसकेको रहेछ ।
उत्तरमा हिमाल, अलिक मुन्तिर खुइलिएका नीला डाँडाहरू, त्यसभन्दा तल पहाडी रूखहरूले ढाकिएका हरिया डाँडाहरू र त्यसैमध्ये एउटा डाँडामा अवस्थित सुन्दरी गाउँ लेलेप । तर त्यो सुन्दरीको गालामा भद्दा र कुरुप देखिन्थे, ती दुई बिल्डिङहरू । मानौ सुन्दरीको सुन्दरतालाई बिरूप बनाउन कहिल्यै निको नहुनेगरी उम्रिएका ती दुई डण्डिफोरहरू हुन् ।
विशाल ४, ५ दिन अघि नै ताप्लेजुङकै आफ्नो पुख्र्यौली थलो ‘सिनाम’ पुगेको थियो । उनी त्यहीबाट हामीसँगै ओलाङ्चुङ्गोला जान हामीभन्दा अघि दिउँसै त्यहाँ पुगेका थिए ।
फुङलिङको रात निकै चिसो थियो । कठ्याङ्ग्रिँदो । महसुस गर्दै सुत्यौ ।
बम्बल्बीको सवारी
बिहान ७ बजेतिर हामी फुङलिङको बस स्टेशनमा थियौँ । हिजो भर्खरै ‘दोहोरी सिट’ को कुरा सुनेको हामी आज त्यही सिटमा थियौँ । चारजना एकअर्कातिर मुख फर्काएर दोहोरी गाउने पोजिसनमा बसिरहेका ।
विशाल ‘दाजु, कहाँ सिट नै पाएन नि अगाडि त । यो पनि बडो मुस्किलले हिजो म दिउँसै आइपुगेकोले भेटेको ।’ भनेर आफ्नो सिट राम्रो खोज्न नसक्नुको ‘एक्सक्युज’ खोजिरहेको थियो ।
म भने अगाडिको यात्राबारे सोँचिरहेको थिए । ओलाङचुङगोलासम्म पुगेर फर्कने भनेर घरबाट निस्किएको म ।
यद्यपि, केटाहरुले चाहिँ ‘ताप्लेजुङ पुगेपछि पनि त्यहाँको कुनै ताल नघुमी के फर्कनु ?’ भनेर सिङ्जेमा ताल पनि जाने कुरामा अड्डी कसिरहेका थिए । म चाहिँ मुखले ‘हुन्छ नि । जाउँला नि ।’ भनेपनि मनले चाहिँ जानेभन्दा बढि नजाने कुरामा दृढ थिए । हिजोसम्म । किनकि, सिङ्जेमा तालको उचाई ४,६७१ सय मिटर हो भन्ने कुरा मलाई थाहा थियो ।
‘गुगल बाबा’ ले बताएको जो थियो । र, मलाई मेरो उचाईको ‘लिमिट’ मज्जाले थाहा छ । केही वर्षअघि अन्नपूर्ण बेसक्याम्पमै पनि मलाई ‘अल्टिच्युड’ को समस्या भएको थियो । जुन मात्रै ४,१०० मिटरको उचाइमा मात्रै छ ।
तर, अघिल्लो रात हामीले रात बिताएको होटेल ‘स्नो लियोपार्ड’ को मालिकले हामीलाई यस्तरी गोला र गोलाको परिवेशको बारेमा बताएको थियो । विस्तृत रुपमा । कसरी जाने ? कहाँ बस्ने ? र, गोलाको छेउको यो ताल किन जाने ? लाग्यो, यहाँ आएर त्यहाँ नजानु त महापापै हुनेछ । उनी कुम्भकर्ण आरक्षण क्षेत्र समितिको अध्यक्ष पनि रहेछन् ।
सोँचे, अध्यक्ष राम्रै मान्छे चुनिएको रहेछ । आफ्नो ठाउँलाई यति ‘प्रोमोशनल’ ढंगबाट घुम्न आउनेहरुलाई बताउने खुबी कमैमा हुन्छ । मैले सकेपनि नसकेपनि त्यसपछि भने एकपटक ताल जाने कोशिस गर्ने मनमनै निर्णय गरेको थिए ।
करिब–करिब ८ नबज्दै हाम्रो शाही सवारी फुङलिङको बसपार्कबाट कमानबाट तीर छुटेजस्तै छुटेको थियो । गाडी घुमाउरा बाटोहरुमा तीर छुटेजस्तै नै दगुरिरहेको थियो । लिएर केही थान यात्रुहरु अगाडि र केही थान हामी ।
“हामी हाम्रै आफ्नोपनलाई विकशित गर्दै लैजान किन खोज्दैनौ ? विकाश गर्दा पुरानै शैलीका घरहरूलाई नै किन विकाश गर्दैनौँ ? जुन हाम्रो आफ्नो शैली हो । किन हामी विकाशको नाममा कंक्रिटको जङ्गल बनाउन उद्यत हुन्छौँ ? किन हामीले गाउँको प्राकृतिकतालाई बचाइरहन सक्दैनौँ ? जस्तो कि लेलेपलाई हेर्ने बितिक्कै हामीलाई प्रकृति याद आउँछ ।
दोहोरी सीटमा दोहोरी नगाई बसिरहेका । दोहोरीको सट्टा बरु ठट्यौली गर्दै । यात्रामा हाम्रो फोटोग्राफीका गुरु बिरेन सूब्बालाई निकै हसीँमजाक गर्नु पर्छ । गर्नुहुन्छ । गरिरहनु भएको थियो ।
सुकेटारसम्म त सडक पिँच गरिएको थियो । गाडी साँच्चै नै तीर छुटेजस्तै नै दौडिरहेको थियो । त्यसपछि शुरु भयो, खाल्डाङखुल्डुङ बाटो । अब भने गाडी घस्रन शुरु भयो । हाम्रो जोक चाहिँ घस्रन पनि छोड्यो । ‘
फुलस्टप’ लाग्यो । कठिन यात्राले एकैछिनमा थकाएको जो थियो हामीलाई । बाटो सिर्फ खाल्डाङखुल्डुङ मात्रै थिएन । नाकै छुने उकालो पनि थियो । थियो, त्यस्तै ओरालो पनि । गाडी घरि डोरीमा झुण्डिँदै कुनै मान्छे ‘रक क्लाइम्बिङ’ गरेझैँ गरेर डाँडाको टुप्पोमा उक्लन्थ्यो । घरि पाइला होशियारीपूर्वक राख्दै–राख्दै चिप्लो कुनै भर्याङमा आल्र्हिएझैँ गरेर ओर्लिएर फेदीमै झथ्र्यो ।
घरि जंगलै जंगल उफ्रिँदै दौडन्थ्यो । घरि खोलामा खोलाभित्रैबाट पौडिएझैँ गर्दै दगुर्दथ्यो । घरि बाटै नभएजस्तो लाग्ने बाटोमा च्याप्पिँदै निस्कन्थ्यो त घरि कच्ची नै भएपनि खुल्लाजस्तो लाग्ने बाटोमा फैलिएर दगुथ्र्यो ।
अचम्म मान्दै मैले त सोधे नै, “हन, यो गाडी नै हो ?”
साँच्चै नै मलाई त्यो गाडी गाडीजस्तै लागिरहेको थिएन । ताप्लेजुङको सदरमुकामदेखि उत्तरतिर त्यो डाँडैडाँडा यसरी कुदिरहेको थियो । जसरी कुनै गाडी त कुद्दै कुद्दैन । मलाई यात्राभरि यस्तै लागिरह्यो ।
कुरा पनि गरे, “यो गाडी त गाडी होइन । ट्रान्सफर्मर हो जस्तो पो लागिरहेछ । ट्रान्सफर्मर । माइकल बेको ट्रान्सफर्मर । र, ट्रान्सफर्मरको बम्बल्बी । थाहा छ नि बम्बल्बी ? गाडी जसले परिस्थिति अनुसार आफ्नो स्वरुप परिवर्तन गर्छ ।
घरि रोबोट बन्छ । घरि हवाईजहाज त घरि हेलिकप्टर पनि बन्छ । हो, यसले पनि त्यहि गरिरह्यो । यात्राभरि । उकालोमा कुुदिरहँदा चक्काको साटो यसले खुट्टा जोडेको थियो । ओरालोमा ओर्लिदा पनि त्यस्तै । खोलामा छिर्दा त झन चक्का झिकेर माछाको पखेटा लगाएको थियो, पानीमा ।”
बाटोमा फेरि खोला पनि कति हो कति ? लाग्यो, ताप्लेजुङ घुमेरै लेखेको हुनुपर्छ श्रद्धेय गीतकार यादव खरेलले श्रद्धेय गायिका तारा देवीले गाउनु भएको गीत ‘नौसय खोला तरेर जाने ।’
भर्खर बाटो खोलिएको त्यो बाटोका खोलाहरुमा पूल बन्नु त कहिले हो कहिले ? प्रत्येक खोलामा हामी चढेको गाडी डुब्की लाइरहेको र पौडी खेलेझैँ गर्दै निस्किरहेको थियो ।
मेरो गाडीमाथिको प्रतिकृयापछि जीवन भाईले भन्यो, “हो नि दाजु, यो गाडी भनेको ‘फोर व्हीलर’ हो । पहाडतिर यस्तै गाडीहरु मात्रै चल्छ । यो जस्तै ठाउँमा पनि कुद्छ । बजारतिर चल्ने ‘टु व्हीलर’ हरुजस्तो हुदैन ।”
बम्बल्बीले हामीलाई करिब १२, १२ः३० तिर तापेथोक ल्याएर फ्याँकिदियो ।
मुस्किलले १२००, १५०० जनसङ्ख्या भएको डाँडैडाँडाहरुबीच, तमोर नदीलाई बीचमा पारेर बसेको एउटा सानो बस्ती । तापेथोक । निकै घमाइलो देखिन्थ्यो । साथै रमणीय पनि । कस्मेटिक कुनै प्रसाधन नघसी सुन्दर देखिएकी कुनै तरुनीभैmँ देखिने तापेथोकसँग हामीलाई धेरैबेर जिस्कनु थिएन ।
त्यहीँको स्थानीय होटेलमा केही थान पर्यटकहरु र उनीहरुका केही थान गाइडहरु चल्मलाइरहेका थिए । तिनीहरुमा केही कञ्चनजंगा बेसक्याम्प पुगेर फर्किएका थिए भने केही त्यतै ताकेर हिँड्न लागेका थिए । हाम्रो बम्बल्बी चलाउने गुरुजीले खाना बाटोबाटै भनिदिएका थिए । एक घण्टा पनि लागेन होला हामीलाई । त्यहाँ । पहाडी चिसो पानीमा बनिएको स्वादिष्ट खाना खान । खायौँ र बाटो लाग्यौ ।
बाटो सोध्नलाई त्यहाँ हामी बाहेक अरु कोही थिएन ।
बहँदै गरेको हावालाई सोधौँ ? चहकिँदै उड्दै गरेका चराहरुलाई सोधौँ ? गीत गाउँदै बगेको तमोरलाई सोधौँ ? गुन्गुन् गुन्गुन् गदैँ गुन्गुनाउँदै गरेका बारुलालाई सोधौँ । या मौन लम्पसार रहेको बाटैलाई सोधौँ ? कि, हामीलाई हाम्रो गन्तव्यसम्म बोकेर हिँड्ने बाटो कुन हो ? कसलाई सोधौँ, कसलाई ? हामीलाई ठम्याउन गाह्रो भइरहेको थियो ।
तापेथोकबाट तमोर तीरैतीर हिँड्नु थियो । ओलाङचुङगोला नपुगुञ्जेलसम्म । यसै भनिएको थियो, हामीलाई । फुङलिङको होटेल ‘स्नो लियोपार्ड’ को मालिकले ।
उनले अर्को कुरा पनि भनेका थिए, “तपाईहरू १, १ः३० घण्टामा लेलेप पुग्नुहुन्छ । त्यसको करिब त्यही समयमा लुङथुङ । र, फेरि १ घण्टामा त इलाडाँडा पुग्न सक्नुहुनेछ । गएर इलाडाँडा बस्नुहोला । इलाडाँडाबाट चाहिँ करिब ६, ७ घण्टामा गोला पुग्नु हुनेछ । इलाडाँडामा बस्नुभयो भने सजिलो हुन्छ । नत्रपनि, लुङथुङ चाहि पुग्नुहोला । त्यसो गर्नुभयो भने तपाईहरु अर्काेदिन गोला पुग्नुहुनेछ । नत्र एकदिन बढी लाग्नेछ ।”
यही कुरा सोँच्दै–सोँच्दै हामी करिब १, १ः३० बजेतिर तमोरमाथि बनिएको झोलुङ्गे पुल तरिरहेका थियौँ । तमोर तरेर हामी तमोरकै किनारै किनार हिँडिरहेका थियौ । उत्तर ताकेर । तमोरको उद्गमस्थलतिर ।
पहाडी तमोर बेगले बगिरहेको थियो, पहाडका तरुण ढुंगाहरुसँग ठोक्किँदै । इत्रिँदै तमोर हामीलाई गीत सुनाइरहेको थियो । पहाडी हावा पनि जिस्किँदै तमोर छुँदै बहिरहेको थियो । तमोर छुँदै बहेको हावा एकतमासले हिँडिरहेको हामीसँग पनि जिस्किन आइपुगिरहेको थियो घरिघरि ।
बाटो फाँटिलो–फाँटिलो थियो शुरु–शुरुमा । त्यही फाँटिलोजस्तो फाँटमा फलेका देखिन्थे । अलैँचीका झ्याङहरु । झ्याङकै बीचमा भेटिए केही थान खसी बाख्राहरु । बाख्रा चराइरहेका आइमाईहरु । र, एकथान सानो फुच्चे गोठालो पनि । केटाहरुले क्यामेरा झिकिसकेका थिए । गोठाला आइमाइहरु, फुच्चे गोठालो कैद हुन थाले क्यामेरामा ।
छेउमै तमोर गीत गाइरहेकै थियो । तमोरसँगै पुरै वातावरण गीत गाइरहेको थियो । घरिघरि चिबे, भङ्गेरा, कोइलीहरुले पनि कोरस थपिरहेका थिए । गीतमै झुमेजस्तो गरेर उडिरहेका थिए, पुतलीहरु । सोही गीतमा हामी पनि झुम्दै क्यामेरामा ती सब कैद गर्दै–गर्दै अघि बढिरह्यौ ।
अलैँचीको झ्याङ सक्किएपछि अलिक मास्तिर देखिए धान फलिरहेको एउटा फाँट । धान फलिरहेको त्यो फाँट सकिने बितिक्कै चाहिँ उकालो शुरु भयो ।
उकालिँदै गएको बाटो छेउमै बाँस झ्याङहरु थिए । निकै बाक्लो बाँस झ्याङका बाँसहरु भने साधारणतया हामीले धरानतिर देखेका बाँसहरूभन्दा निकै मोटोमोटो थिए । पहाडमा अलिक ज्ञान राख्ने र पहाड अलिक धेरै भ्रमण गरिरहने जीवनले भन्यो, “दाजु, यसलाई भालु बाँस भनिन्छ । प्राय: पहाडतिर पाइने बाँसहरू यस्तै हुन्छन् ।”
जीवनले त्यसो भनिरहँदा मैले भने सम्झिए अलिक वर्ष अघिको अन्नपूर्ण भ्रमण गर्दाको ‘ब्याम्बो’ भन्ने ठाउँ । ब्याम्बो भनिएको त्यो ठाउँमा जताततै बाँसै बाँसका झ्याङ्ग फलेका थिए । तर ती बाँसहरु निकै मसिना, साना र पुड्का थिए ।
हिँड्दै जाँदा भेटिए बाटोमै केही घरहरू । घरकै छेउमा बाँसकै टाँड जस्तो बनाइएको र तल टाँडलाई आगोले नभेटिने गरी धुवाँले मात्रै भेट्नेगरि आगो लगाइएको थियो । जीवनले नै बतायो, “यो अलैँची सुकाउनलाई बनाइएको टाँड हो । यसरी मुनिबाट धुँवा दिएर अलैँची सुकाइन्छ ।”
यसरी तापेथोकबाट डेढ घण्टामा लेलेप पुगिन्छ भनिएकोमा हामी ठीक त्यसको दोब्बर समय लगाएर हिँडिसकेपछि यस्तो ठाउँमा पुग्यौँ । जहाँ बाटो दुइतिर छुट्टिएको थियो । एउटा बाटो अझै निकै उकालिएको थियो भने अर्को बाटो ओह्रालिएको थियो । अड्कल लाउँदै थियौ । ओह्रालो लाग्ने बाटो पक्कै पनि तमोर नदीतिरै झर्ने होला । र, हामीलाई ओह्रालो झर्नु थिएन ।
किनकि, हामीलाई भनिएको थियो, इलाडाँडा नपुगुञ्जेल तमोर तर्नु पर्दैन भनेर । इलाडाँडापछि मात्रै तमोर तर्नु पर्ने हुन्छ भनेर । त्यही पनि हामी कता लागौँ भन्ने अलमलमा थियौ । एक हूल गाइडजस्ता लाग्ने मान्छेहरु आइपुगे त्यहाँ । सोच्यौँ, उनीहरूलाई सोध्नुपर्ला लेलेप जाने बाटो । तर हामीछेउ आइपुगेपछि उल्टै उनीहरुले पो हामीलाई सोधे, “केबिसीतिर जाने बाटो कता हो ?”
उनीहरु कन्चनजंगा बेस क्याम्प हिँडेका भरियाहरु रहेछन् । पहिलोचोटि आएका । उनीहरुका पर्यटकहरू गाइडसँगै अगाडि नै गइसकेका रहेछन् ।
उनीहरुले उल्टै सोधेपछि मैले भूइँमा यसो हेरे । देखेँ भूइँमा एउटा ढुंगामा चिन्ह दिएर लेखिएको थियो, केबिसी जाने बाटो । ओह्रालोतिर झरेको । उनीहरूलाई देखाइदिए । उनीहरु त्यतै खुसी हुँदै लागे । हामी भने त्यो दिशाको उल्टोतिर भएको अर्को दिशातिर लाग्यौ, उकालै उकालो ।
केही क्षणमै हामी लेलेपमा थियौँ । लेलेपको पुच्छारतिरको एउटा होटेल घरमा । घर पनि होटेल पनि भएकोले मैले होटेल घर भनिदिएँ ।
समय ४, ४ः३० भइसकेको थियो । तापेथोकबाट डेढ घण्टामा लेलेप पुगिन्छ भनिएकोमा हामीलाई तीन साढे तीन घण्टा लागेको थियो । अब लेलेपबाट हिँडियो भने बाटैमा रात पर्ने निश्चित थियो ।
होटेल शेर्पा परिवारको मान्छेको थियो । होटेल मालिककी छोरी जो काठमाडौँ बस्दी रहेछिन् । दशैतिहारको छुट्टीमा आफ्ना छोराछोरी लिएर घर आएकी, अलिक फर्साइली थिई । भनी, “तपाईहरु यो भन्दा अगाडी नजानु नै बेस हुन्छ । अँध्यारो हुन्छ ।”
उसैले लेलेपको बारेमा, गोलाको बारेमा, गोलाका शेर्पाहरुको बारेमा निकै धेरै घतलाग्दा कुराहरु बताइन् । हामी सुन्दै गयौँ । उनी बताउँदै गइन् ।
लेलेपका दुई डण्डीफोर
ठिक उत्तरतिर अवस्थित कुम्भकर्णतिरबाट आएको धुन्सा खोला र अलिक मुन्तिर उत्तर पूर्वतिरबाट आएको सिम्बुवा खोला आएर तमोरमा मिसिने संगमस्थलमा अवस्थित लेलेप निकै सुन्दर देखिन्थ्यो बिहान । असोजको अन्तिमतिर भएकोले होला हावा निकै चिसो बहिरहेको थियो ।
४००, ५०० घरधुरी भएको र जम्माजम्मी २२, २५ सयमात्रै जनसंख्या भएको एउटा सानो शेर्पा बस्ती जहाँका घरहरु भने तर प्राचिन लिम्बू–लिम्बू पाराका निक्कै आर्कषक थिए । वरिपरि नजिकै लिम्बू बस्तीहरु भएको कारण होला शायद । प्रायः सबै घरहरु निकै सफा देखिन्थे ।
घरका अगाडि जातजातिका फूलहरु र दशैंतिहारको समय भएकाले सबैभन्दा धेरै त सयपत्रीहरु संसारभरिका सुन्दरता आफूभित्र समेटेर फुलिरहेका देखिन्थे । त्यहाँ सिर्फ दूईवटा मात्रै सिमेण्टेड घर थिए । ती दुईमा एक थिए, त्यहाँका निम्न माध्यमिकस्तरीय स्थानीय विद्यालय । र अर्को थियो, प्रहरीको बिल्डिङ ।
उत्तरमा हिमाल, अलिक मुन्तिर खुइलिएका नीला डाँडाहरु, त्यसभन्दा तल पहाडी रुखहरुले ढाकिएका हरिया डाँडाहरु र त्यसैमध्ये एउटा डाँडामा अवस्थित सुन्दरी गाउँ लेलेप । तर त्यो सुन्दरीको गालामा भद्दा र कुरुप देखिन्थे, ती दुई बिल्डिङहरु । मानौ सुन्दरीको सुन्दरतालाई बिरुप बनाउन कहिल्यै निको नहुनेगरी उम्रिएका ती दुई डण्डिफोरहरु हुन् ।
एकछिन् त गफ नै चल्यो । गफ केन्द्रित थियो, “हामी हाम्रै आफ्नोपनलाई विकशित गर्दै लैजान किन खोज्दैनौ ? विकाश गर्दा पुरानै शैलीका घरहरुलाई नै किन विकाश गर्दैनौँ ? जुन हाम्रो आफ्नो शैली हो ।
किन हामी विकाशको नाममा कंक्रिटको जङ्गल बनाउन उद्यत हुन्छौँ ? किन हामीले गाउँको प्राकृतिकतालाई बचाइरहन सक्दैनौँ ? जस्तो कि लेलेपलाई हेर्ने बितिक्कै हामीलाई प्रकृति याद आउँछ । टिपिकल शेर्पा बस्ती हो भन्ने भान हुन्छ, सिर्फ ती दुइवटा घरलाई छोडेर ।
तर, यसरी नै सिमेण्टेड डण्डिफोरहरु पलाउँदै जाने हो भने कति कुरुप देखिन्छ होला यी सुन्दरी पनि ? कति अप्राकृतिक । कति आर्टिफिसियल । आर्टिफिसियल शहरहरुजस्तै । सहर त कुरुप बनायौँ बनायौ हामीले ।
गाउँलाई गाउँजस्तै रहन दिन किन सक्दैनौँ ? सुख सुविधाहरु नै पनि त्यही पुरानै ढाँचा र आकारका घरलाई उही उस्तै रुपमा राखेर पनि त पुर्याउन सक्छौँ नि, होइन र ?”
यस्तै गफ गर्दै–गर्दै खाजा खाएर हामी आठ नबज्दै अगाडि बाटो लाग्यौँ । केही छिन त बाटो सहज नै थियो । बाटोमा पौराणिक टाइपका घरहरु थिए । घरहरुका अगाडि फुलबारीहरु थिए । फूलबारीमा फूलहरु फुलेका थिए । फूलमा पुतलीहरु । पुतलीसँगै हाम्रो मनपनि फुलिरहेका थिए । फुलिरहेका पुतलीहरु फूलका सुगन्ध लिएर उडिरहेका थिए ।
उनीहरुसँगै त्यही उडिरहेका हामैै्र मनहरु पनि थिए । त्यही उडिरहेका मनहरु पछ्याउँदै–पछ्याउँदै हामी हाम्रो बाटो लागिरहेका थियौँ । सपनाको गन्तव्यसम्म ।
बाटैमा भेटिए एकजोर गाइडहरु । भन्दै थिए, “हामी त लुम्बासुम्बा सर्कल हिँडेका । एकजोडी बुढाबुढी पर्यटक लिएर । ती पर्यटक बुढाबुढी बाहेक हाम्रो टीममा छन् हामी दुई गाइड र केही भरियाहरु ।”
‘लुम्बासुम्बा सर्कल’ भनेको एउटा यस्तो ट्रेकिङ रुट हो । जुन ताप्लेजुङको फुङलिङबाट शुरु भएर ओलाङचुङ गोला, लुम्बासुम्बा हिमालको बेस क्याम्प, चौरीखर्क, याङ्लाखर्क, मकालु बेसक्याम्प, नुम हुँदै तुम्लिङटार गएर टुंगिन्छ । यो सर्कल छिचोल्न कम्तिमा पनि २ देखि ३ हप्तासम्म लाग्छ भनेर नेट सर्फिङ बाट थाहा पाएको हुँ ।
र, सँगसँगै यो पनि थाहा पाएको हुँ कि पछिल्लो समय यो रुट निकै रुचाइँदै गएको छ । अहिलेसम्म पनि एउटा भर्जिन रुटकै रुपमा रहेको यसलाई पर्यटकहरुको हूलले त्यति धेरै गिँजोलिसकेको छैन । जहाँ निकै धेरै ‘एडभेञ्चर’ हरुसँग साक्षात्कार गर्न सकिन्छ । टे«किङ गर्ने इच्छा खुब राख्ने म, उनीहरुको कुरा सुनेर थुक निल्छु, लोभले । छट्पटिन्छु, डाहाले ।
मेरा साथीहरु भने फोटो खिँच्नमा तल्लिन देख्छुँ । लेलेपको अहिलेसम्म संरक्षित प्राकृतिकतालाई क्यामेरामा कैद गर्न एकधुनले तीनजना तीनतिर तल्लिन देख्छु । खिँच्नुसँगसँगै हिँडि पनि रहेका छन्, उनीहरु ।
अलिकबेर पहाडको समथल बाटो हिँडिसकेपछि बाटो ओह्रालिन्छ । याद आउँछ तुलसी दिवस दाजु र दाजुको ‘बाटो’ कविता,
‘हिँड्दा हिँड्दै हिँडेको बाटो ओकालिएपछि
हिँड्नेको केही नलाग्दो रहेछ,
उकालिँदा उकालिँदै उकालिएकै बाटो नै ओह्रालिएपछि
ओल्र्हनेको पनि केही नलाग्दो रहेछ ।’
साँच्चै नै, हामी केही गर्न सकिरहेका थिएनौ सिवाय ओल्र्हनुको । बाटै ओल्र्हिएको ओल्र्हिएकै गरेपछि ओल्र्हनु सिवाय के नै गर्न सकिने रहेछ र ? ओल्र्हदै गरेको बाटामा थिए अभिभावक विहीन केही थान घरहरु, केही थान बालबालिकाहरु, झाँडी, उड्दै गरेका मौरी, आकाशिएर बहिरहेका जूरेली, हाँगा–हाँगा उफ्रिरहेका चराहरु र पहाडका भीरहरुमा पहाडको उचाईहरुलाई जितुलाझैँ ठडिएका रुखहरु । पश्चिमतिर तल बगिरहेकै थियो तमोर, सुमधुर गीत सुनाउँदै ।
ओरालो सकिने बितिक्कै देखा प¥यो सानो खोला । खोलामा थियो झोलुङ्गे पूल । पुललाई हल्लाउँदै हामीले खोला तर्यौँ । खोला कटेर अलिकति हिँडेपछि फेरि देखा पर्यो दुईवटा बाटो । सिधै पूर्वतिर लागेको एउटा बाटो सहज र सिधा थियो । सिधै उत्तरतिर लागेको बाटो चाहिँ ठाँडै उकालो थियो । बाटो सोध्नलाई त्यहाँ हामी बाहेक अरु कोही थिएन ।
बहँदै गरेको हावालाई सोधौँ ? चहकिँदै उड्दै गरेका चराहरुलाई सोधौँ ? गीत गाउँदै बगेको तमोरलाई सोधौँ ? गुन्गुन् गुन्गुन् गदैँ गुन्गुनाउँदै गरेका बारुलालाई सोधौँ । या मौन लम्पसार रहेको बाटैलाई सोधौँ ? कि, हामीलाई हाम्रो गन्तव्यसम्म बोकेर हिँड्ने बाटो कुन हो ? कसलाई सोधौँ, कसलाई ? हामीलाई ठम्याउन गाह्रो भइरहेको थियो ।
“जे पर्ला पर्ला । उकालिएकै बाटो जाऊँ ।” गुरु वीरेन सुब्बाले भन्नुभयो ।
लाग्यौँ, उकालै उकालोको बाटो । सम्झँदै, “ओल्र्हदा ओल्र्हदैँ ओर्लेकै बाटो ओकालिएपछि उक्लनेको पनि केही नलाग्दो रहेछ ।” सम्झँदै तुलसी दिवस दाईलाई नै फेरि । झण्डै एक घण्टाजस्तो ओल्र्हिएर झोलुङ्गे पुल आइपुगेका हामी यो ओकालोमा झण्डै एक डेढ घण्टा उक्लिएपछि एउटा टारजस्तो ठाउँमा आइपुगेका थियौँ ।
टार निकै रमाइलो थियो । केही थान घरहरु ठडिएका थिए । खेत थिए । देउराली थियो । पुछारतिरको एउटा घरमा एउटा नानी, एउटी बूढी मान्छे र एउटी युवती थिइन् । घडीले भने झण्डै एघार बजाइसकेको थियो । भोक पनि लागिसकेको थियो । युवतीले ढोकैबाट चियाएर हामीतर्पm हेरिन् । हामीले सोध्यौँ, “यो कुन ठाउँ हो ?”
“लुङथुङ ।” उनले बताइन्, “यो माथिल्लो लुङथुङ हो । खास लुङथुङ चाहिँ तपाईहरु अघि तल दुइवटा बाटोमा अर्को बाटो गएको भए चाहिँ पुग्नु हुन्थ्यो । यो गोला जाने लामो बाटो हो । तपाईहरु लामो बाटो चाहि आउनु भयो । तल्लो बाटो जानु भएको भए लुङथुङ कटेर निकै माथि पुगिसक्नु हुन्थ्यो ।”
“ला, हो र ? ठीकै छ । यो ठाउँ निकै राम्रो रहेछ । राम्रो ठाउँ देख्न पायौँ । राम्र्रै भयो ?” हामीले भन्यौँ । र, सोध्यौँ, “खाना बनाइदिन सक्नु हुन्छ हामीलाई ?”
“हुन्छ । तर, समय लाग्छ ।” उनले भनी ।
एकाध घण्टा लाएर उनले मीठो खाना बनाइदिइ । त्यही दौरान हामीले माथ्लो लुङथुङको सौन्दर्यलाई क्यामेरामा कैद गर्यौँ । हाम्रो क्यामेरामा लुङथुङदेखि उत्तरतिर देखिने हिमाल कैद भए । नीला पहाडहरु कैद भए । त्यही पहाडले सिग्रेट पिएर फुकेर उडाएका धुवाँझैँ देखिने बादलको गुच्छा कैद भए ।
जौँ पाकेर पहेला भएका फाँट कैद भए । फाँटमै फुलेका फूलहरु कैद भए । खाना बनाइदिइरहेका घरका साना नानी कैद भए । बुढी मान्छे कैद भए । कैद भए थुप्रै कुराहरू । यसरी त्यो समय कैद भयो हाम्रो क्यामेरामा । समयलाई ग्याजेटमा कैद गरेर प्रफुल्ल भएका हामी त्यही कैदी समयभित्र तयार भएको मीठो खाना खाएर करिब १ बजेतिर त्यहाँबाट हिँड्यौ । फेरि गन्तव्य पछ्याउँदै ।
क्रमशः बाँकी अर्को अंकमा …
शब्दार्थः
इम्बिरी — तमोर नदीको नाम लिम्बू भाषामा
वोलुङ — ओलाङचुङ गोलाको स्थानीय नाम
















Discussion about this post