धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नेपाल पत्रकार महासंघ सुनसरीको भवनमा थप कामको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
सोमबार धरान उपमहानगरपालिकाले आयोजना गरेको सञ्चारकर्मीहरुसँग भेटघाट तथा शुभकामना कार्यक्रममा मेयर राईले यस्तो घोषणा गरेका हुन् ।
मेयर राईले दशै, तिहार, छठ पर्वको शुभकामना दिदै चाड पर्वको अबसरमा सञ्चाकर्मीहरुसँग भेटघाट गर्न पाउँदा आफुलाई अत्यन्तै खुशी लागेको बताए ।
श्रमजीवि पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्नेगरी र सञ्चार संस्थाहरुलाई सहयोग गर्ने विषयमा तिहारपछि छलफल गर्ने मेयर राईको भनाई थियो ।
मेयर राईले कार्यक्रममा उपमहानगरपालिकाले गरेका गतिविधिहरु उपमहानगरपालिकाको वेवसाईटमा अपडेटिङ गर्न पनि सुचना शाखालाई निर्देशन दिए ।
धरान उपमहानगरपालिकाले पहिलो पटक चाड पर्वमा सञ्चाकर्मीसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेको हो । यसअघि धरान उपमहानगरपालिकामा यस्तो परम्परा थिएन ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष जनकऋषि राई, पत्रकार महासंघका पूर्व उपाध्यक्ष सन्तोष काफ्ले, खेलकुद पत्रकार महासंघ सुनसरीका अध्यक्ष रत्न आचार्य, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ, महिला पत्रकार गंगा बराल लगायत पत्रकारहरुले धन्यवाद प्रकट गरेका थिए ।














Discussion about this post