इटहरी : सुनसरीमा विवाहको प्रलोभन दिएर भारततर्फ बेचबिखन गर्न लैजाँदै गरेकी एक युवतीलाई प्रहरीले उद्धार गरेको छ।
युवतीलाई लैजाँदै गरेका युवालाई पक्राउ गरी कारबाही प्रक्रिया थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काठमाडौ महानगरपालिका वडा नं. ४ की २० वर्षे मोक्तान थरकी युवतीसँग घनिष्ट प्रेम सम्बन्ध राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सुनसरी प्रहरीले उद्धार गरेको हो। प्रहरीले कोसी गाउँपालिका वडा नं. ८ भण्टाबारीको सीमानाका नजिकैबाट युवतीलाई उद्धार गरेको हो।
प्रहरीले युवतीलाई भारततर्फ लैजाँदै गरेका काठमाडौमा ठेक्काको काम गर्ने भारत बिहार राज्यको सुपौल जिल्लाको गोपालपुर ग्राम पञ्चायतका ३२ वर्षे महम्मद फिरोजलाई पक्राउ गरी मुद्दा चलाएको छ।
पक्राउ परेका फिरोजको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नगेन्द्र कार्कीले जानकारी दिए ।
चेलीबेटी बेच्ने गिरोह नेपालमा सक्रिय रहेको हुँदा समाजमा हेपिएका, पिछडिएका, अशिक्षित, घरेलु हिंसामा परेकालाई दलालमार्फत यौन क्रियाकलापमा तथा आपराधिक क्रियाकलापमा संलग्न गराउन, शारीरिक अङ्गहरु बिक्री गर्ने उद्देश्यले लग्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Discussion about this post