मोरङ : मोरङको मिक्लाजुङमा बलात्कारका कारण एक बालिकाको गर्भ बसेको खुलेको छ । घटना बाहिरिएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट मिक्लाजुङ गाउँपालिका ४ का ४४ वर्षीय छविराज चाम्लिङ राईले बलात्कार गरेर १४ वर्षीया बालिकालाई गर्भवती बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बङ्गुरलाई चारो खोज्न जङ्गल गएका बेला ४ महिनाअघि बालिकालाई राईले बलात्कार गरेको खुलेको हो ।
बलात्कार पीडित बालिका गर्भवती भएको घटना बाहिर आएसँगै राई फरार बनेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘बङ्गुरलाई चारो खोज्न बालिका जङ्गलमा पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ साल माघ २६ गते बलात्कार गरेको पाइएको छ,’ श्रेष्ठले भने, ‘घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिँदै डर र त्रास देखाइएका कारण बालिकाले अभिभावकलाई समेत नभनेको खुलेको छ, हामी अनुसन्धानको क्रममा छौँ ।’
बालिकाका बुवाले राईविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post