इटहरी (डेस्क) : झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र लागूऔषध ट्याब्लेटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पुरानो बिजुली अफिस छेउबाट लागूऔषध ब्राउनसगुरसहित एकजनालाई पक्राउ गरेको छ ।
मे १ ह २९२१ नम्बरको अटोमा बिर्ताबजारबाट बुटाबारीतर्फ जाँदै गरेका चालक सुनसरी घर भइ हाल सोही स्थान बस्दै आएका ४० वर्षीय उमेश चौधरीलाई लागूऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका ५ सिराहा घर भइ हाल बिर्तामोड ३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ वर्षीय प्रतीक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतीक्षाको कोठाबाट समेत प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ५ ग्राम बरामद गरी उनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, विराटनगर महानगरपालिका १६, हुलास चौक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मोरङको बेलबारी नगरपालिका ११ बस्ने ४५ वर्षीय प्रकाश बस्नेतलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, ऐभिल १५ एम्पुल बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post