इटहरी (डेस्क) : झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको मेचीनगर नगरपालिका ६ मा भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङको लेटाङ नगरपालिका ४ का २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्णप्रकाश मगरको साथबाट ३ ग्राम ब्राउनसुगर बरामद गरेकोे हो ।
यस्तै, लागूऔषधमा संलग्न रहेका झापाको मेचीनगर नगरपालिका ७ का २१ वर्षीय रोहित मण्डल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउनसुगरसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाकै दमक नगरपालिका २ खरखरेबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका दमक २ का ४१ वर्षीय भीमबहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटमा प्रदेश १–०२–०४ प १७५७ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैँचा नगरपालिका २ का २८ वर्षीय ज्ञानदिप चौलागाईँको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका पाँचैजनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post