ताप्लेजुङ : ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो छ । अहिले यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् ।
असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो ।
जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ ।
माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ । यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात मुख्य सिजन भएकाले किसानलाई भ्याइनभ्याइ भएको छ ।
अलैँची सङ्कलन गर्ने समय भएपछि सङ्कलन गर्न ढिलो भएमा वन्यजन्तुले खाइदिने नोक्सानी गरिदिने हुँदा अलैँची खेतीमा संलग्न किसानले दशैँ तिहारजस्ता चाडपर्व सहज गरी मनाउन पाउँदैनन् ।
चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले अलैँची खाएर क्षति गर्ने गर्छन् । त्यसैले चाडपर्व नभनी किसानले अलैँची थन्क्याउन व्यस्त रहन्छन् ।
अलैँचीको मुख्य सिजन भएकाले अलैँची बारी ९बगान० मा नै चाडपर्व बितिरहेको फुङ्लिङ नगरपालिका –६ बिहीबारेका किसान केदार पतङ्वाले बताए ।
दशैँ पर्व घरमा बसेर मनाउन पाए पनि तिहार भने अलैँची थन्क्याउने चटारोले जङ्गलमै बितिरहेको उनको भनाइ छ । यस्तै, फुङ्लिङ नगरपालिका वडा नम्बर ६ कै अर्का किसान खाङ्डो शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमा तिहार पर्व बितिरहेको बताए ।
घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले क्षति गर्ने भएपछि चाडपर्व र तिहार नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए ।
जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैँची खेती गर्ने गरिन्छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।














Discussion about this post