इटहरी : मोरङ कारागारका कैदी (चौकीदार) अभिषेक गिरीको भीमफेदी कारागारमा सरुवा भएपछि कैदीबन्दीहरू आन्दोलित बनेका छन् ।
गिरीलाई कैद अवधि सकिन लाग्दा गृह मन्त्रालयले मकवानपुरको भीमफेदी कारागारमा सरुवा गर्ने निर्णय गरेपछि कैदीबन्दीहरू आन्दोलिन बनेका हुन् ।
गृहको निर्णय रोकिनुपर्ने माग राख्दै कालोपट्टी बाँधेर विभिन्न प्ले कार्डसहित कैदीबन्दीहरू आन्दोलिन बनेका हुन् ।
उनीहरूले चौकीदार गिरीको सरुवा षड्यन्त्रपूर्वक भएको र यो स्वीकार्य नहुने भन्दै प्रर्दशन गरेका हुन् । कैदीबन्दीले गिरीलाई ‘ठूल्दाइ’ को नाम दिएका छन् । उनीहरूले ‘ठूल्दाइ’को सरुवा रोक्नुपर्ने र जबरजस्ती सरुवा गरेमा जस्तोसुकै परिस्थिति आउनसक्ने चेतावनी दिइरहेको कारागार श्रोतले बताएको छ ।
गिरीले कैद भुक्तान गर्न अब जम्मा २७ दिन मात्रै बाँकी छ । गिरी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा २०७८ मंसिर ९ गते केन्द्रीय कारागार डिल्लीबजारबाट मोरङ स्थानान्तरण भएका थिए ।
त्यसबखत गिरीलाई मोरङ कारागारमा ल्याउन नहुने भन्दै कैदीबन्दी र उनीहरूका आफन्तले आन्दोलन गरेका थिए । उनीहरूको तीब्र आन्दोलनका कारण गिरीलाई मोरङ कारागार ल्याउन सकस परेको थियो ।

तर, अहिलेको आन्दोलन फरक छ । कारागार स्रोतका अनुसार कैद भुक्तान गर्नै लाग्दा उनीहरूले गिरीलाई मोरङ कारागारबाटै बिदाइ गर्न चाहेका छन् । ‘कैदीबन्दीले गिरीको स्थानान्तरण गरेको खण्डमा जस्तोसुकै परिस्थिति आउनसक्ने बताएका छन्’, कारागार श्रोतले भन्यो, ‘उनीहरूले हामीलाई पनि ‘ठूल्दाइ’सँगै लग्नुहोस् भनिरहेका छन् ।’
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाई सरुवा गरेर मोरङबाट भीमफेदी कारागार लैजानका लागि आइतबार पत्र प्राप्त भएको कारागार प्रशासनले जनाएको छ ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्न मोरङ कारागारलाई पत्र पठाएको थियो । ‘माथिबाट पत्र आएपछि हामीले स्थानान्तरण गर्ने तयारी गरिरहेका छौं,’ निमित्त जेलर तुलसीराम भगतले भने, ‘यहाँ कैदीबन्दीले दबाबपूर्ण धर्ना दिइरहका छन् ।’
उनका अनुसार कारागार प्रशासनले स्थानान्तरणको प्रक्रिया सकेर आवश्यक कागजात जिल्ला प्रशासन कार्यालय, मोरङलाई बुझाइसकेको छ । अब, प्रशासनले सुरक्षाको रणनीति तयार गर्दै गिरीको स्थानान्तरण गर्ने छ ।
विराटनगरको देवकोटा चोक घर भएका गिरीलाई युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो ।
फागुन ३ गते गिरीको कैद अवधि सकिँदै छ । उनले मोरङ कारागारबाटै कैद भुक्तान गर्न चाहेको बताएका छन् ।
‘या मलाई केन्द्रीय कारागारमा सिफ्ट गरियोस् । या त विराटनगर कारागारमै मेरो जिम्मेवारी अरू कसैलाई सुम्पिइयोस्’, गिरीले भने, ‘म यही कारागारबाट कैद भुक्तान गर्न चाहन्छु तर म भीमफेदी जान चाहन्नँ ।’
गिरीले मानवअधिकार आयोग मोरङलाई कारागार कार्यालय मोरङ मार्फत निवेदन समेत दिएका छन् । उनले आफुलाई षड्यन्त्रपूर्वक मार्न खोजिएको भन्दै उचित न्याय मिलाइदिन आग्रह गर्दै आयोगमा निवेदन दिएका छन् ।
निवेदनमा भनिएको छ, ‘मलाइ सरुवा लाने बहानामा बाटोमा मार्ने षड्यन्त्र रहेको साथै कारागार भित्रै पनि मलाई मार्ने प्रयास भएको हुनाले मेरो ज्यान, स्वाभिमान र मानव अधिकार हनन् गर्न गर्न खोजिएकोमा यस्ता कार्यलाई यथाशिघ्र बन्द गराई म माथि कुनै किसिमको राजनीतिक हस्तक्षेप वा दवाव नहोस् साथै उचित न्याय दिलाइ दिनु हुन अनुरोध गर्दछु ।’














Discussion about this post