विराटनगर : झापा र मोरङका छुट्टा–छुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र डाईलक्स डि.सी.सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट स्थानीय ३० वर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै दमक नगरपालिका १ को कुमाल चोकमा रहेको एक होटलमा लागूऔषध ब्राउनसुगरको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका ४ का ३२ वर्षीय बीरबहादुर लिम्बू, दमक ३ की २४ वर्षीया प्रेमकुमारी तामाङ, १९ वर्षीया दीक्षा योगी र फाकफोकथुम गाउँपालिका ३ घर भइ दमक ९ मा बस्ने ३३ वर्षीय बिदुर पौडेल रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ९ ग्राम लागूऔषध ब्राउसुगर र ४ थान मोबाइल बरामद गरेको छ । यसैगरी, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ बाट धरान १५ का ४२ वर्षीय मणी राई र तुवाचुङ गाउँपालिका ७ खोटाङका ४७ वर्षीय सुचिन राईलाई २० बोतल लागूऔषध डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका ७ जनामाथि नै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post