इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ मा पर्ने पर्यटकीय गन्तव्य तालतलैयामा विवाद उत्पन्न भएको छ ।
तालतलैया विकास तथा संरक्षण समितिका कार्यसमिति सदस्य खगेन्द्र आचार्य र कर्मचारी कुलप्रसाद निरौलाको विवादका कारण सिंगो कार्यसमिति विवादित बनेको हो ।
तालतलैया विकास तथा संरक्षण समितिकै मातहतमा कार्यरत कर्मचारी कुलप्रसाद निरौलाले कार्यसमिति सदस्य खगेन्द्र आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो ।
आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काट्ने क्रममा पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको र पछि टिकट माग्दा आँफूले च्यातेर फालिदिएको जवाफ दिएको आरोप लगाइएको छ ।
टिकट नपाएका पर्यटकलाई नै आँफूले सोधेको र उनले आँफूलाई काउण्टरबाट टिकट नै नदिएको बताएको निरौलाको आरोप छ । निरौलाले भने, ‘मैले उक्त व्यक्तिलाई नियालिरहेको थिएँ । पछि गएर उनलाई नै सोधेको पनि हो, तर उनले काउण्टरबाट टिकट नै नपाएको बताए ।’
यता, कार्यसमिति सदस्य आचार्यले आँफूले टिकट काटेर दिँदादिँदै पनि उक्त व्यक्तिले टिकट नलिएको र आँफूले टिकट पुनः प्रयोग गर्न नमिलोस् भन्ने उद्देश्यले च्यातेर फालेको उल्लेख गरेका छन् । आचार्यले उक्त रकम हिनामिना गर्ने उद्देश्यले लिएको नभइ आँफूले कार्यलयमा बुझाएको उल्लेख गरे ।
तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनालले बोटिङका कर्मचारी खुजुरा साट्न गएको समयमा आचार्य पुगेर केही समयका लागि बसिदिएको र सो समयमा भीड भएका कारण आचार्यले नै टिकट काटेर पर्यटकलाई बोटिङ गर्न पठाएको बताएका छन् ।
व्यक्तिले टिकट नलिएका कारण आचार्यले टिकट च्यातेर फालिदिएको र उनीसँग झोला नभएका कारण रकम गोजीमा नै राखेको सत्य भएको बताए । आचार्यले नियतवस नभइ पछि उक्त रकम कार्यालयमा बुझाएको अध्यक्ष खनालको भनाइ छ ।
Discussion about this post