इटहरी : इटहरी २ र ३ नम्बर वडामा पर्ने तालतलैया विकास तथा संरक्षण समितिमा अनियमितता भएको भन्दै तालाबन्दी गरिएको छ ।
सोमबार (आज) तालतलैयाको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।
नेपाली कांग्रेस इटहरी २ कार्यवाहक सभापति विशुधन राई र कांग्रेस इटहरी ३ का कार्यवाहक सभापति बाबुराम नेपालद्वारा जारी विज्ञप्ति अनुसार अनियमितताको विषयमा पटक–पटक कार्यसमितिमा जानकारी गराइएको र छानबिन गर्नुपर्ने माग राखिएपनि बेवास्ता गरेपछि तालाबन्दी गरिएको हो ।
‘हामीले छानबिनका लागि पटक–पटक आग्रह गरेपनि सिंगो कार्यसमितिले बेवास्ता गरेकाले तालाबन्दी गर्न बाध्य भएका हौँ,’ राईले टाकुरासँग भने, ‘यस विषयमा इटहरी २ र ३ का वडाध्यक्षसहित नगर प्रमुखलाई पनि जानकारी गराएका छौँ ।’
अनियमितताको घटना भित्रभित्रै मिलाउन खोजिएको र त्यस विषयमा कार्यसमितिका पदाधिकारीहरू मौन रहेकाले आँफूहरू तालाबन्दी गर्न बाध्य भएको उनले बताए ।
यसअघि कार्यसमिति सदस्य खगेन्द्र आचार्य र कर्मचारी कुलप्रसाद निरौलाको विवादका कारण सिंगो कार्यसमिति विवादित बनेको थियो ।
कर्मचारी कुलप्रसाद निरौलाले कार्यसमिति सदस्य खगेन्द्र आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो । तर, यस विषयमा कार्यसमितिले बेवास्ता गरेको आरोप लगाइएको छ ।
नगर प्रमुख हेमकर्ण पौडेललाई पनि आँफूहरूले पत्र दिँदै ध्यानाकर्षण गराएको राईले जानकारी दिए ।
आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काट्ने क्रममा पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनालले भने नियतवस नभएको बताएका छन् ।
यो पनि – इटहरीको तालतलैयामा विवाद, कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप
Discussion about this post