इटहरी (डेस्क) : झापा, मोरङ र उदयपुरको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका ९ का २२ वर्षीय अर्जुन आले र ३८ वर्षीय कृष्ण लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर १६ स्थितमा भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेका पैदलयात्री धरान १३ का २० वर्षीय शुक्र भुजेल र २१ वर्षीय पवन अधिकारीलाई पक्राउ गरिएको छ ।
चेकजाँच गर्दा उनीहरूको साथबाट निषेधित औषधी लुपिजेसिक, एभिल, फेनारगन र डाईजोपामसहित १४० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपुरको प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ४ स्थितमा चेकजाँचको क्रममा बेलका नगरपालिका ३ का २० वर्षीय बिशाल तामाङ, २४ वर्षीय प्रदीप तामाङ र २१ वर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post