विराटनगर : विराटनगर महानगरपालिकाले बैशाख १ गते भोलिदेखि सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गर्ने भएको छ ।
सोही अभियानलाई सफल बनाउन महानगरले आज सचेतनामूलक प्रभातफेरी समेत निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताए ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्यतामा समेत ह्रास आएको उनको भनाइ थियो ।
‘महानगरले सरसफाई अभियान पनि सञ्चालन गरिरहेको छ । सफाईका क्रममा नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोलहरु भेटिएको छ’, बस्नेतले भने, ‘महानगरले सुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।’
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताए ।
‘महानगरले सुरु गरेको यो अभियान अत्यन्तै राम्रो छ, यसमा सबैले साथ दिनुपर्छ’, उनले भने, ‘यदि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा कानुनले तोकेअनुसारको कारबाही हुनेछ ।’
महागरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिए ।
उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु, बसपार्क र बसहरुमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन ।














Discussion about this post