ताप्लेजुङ : ताप्लेजुङमा बाढी पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
सिदिंवा गाउँपालिका ६ मेहेलेको मुकुभञ्ज्याङमा पहिरो जाँदा बाबु केशरबहादुर राई र छोरा सुरेश राईको मुत्यु भएको छ ।
पहिरोमा परेका उनीहरुमध्ये सुरेश र रामकुमार राईको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो। जसमध्ये सुरेशको मृत्यु भएको छ भने रामकुमारको अवस्था चिन्ताजनक रहेको छ।
उनको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर इटहरीबाट मेहेलेतर्फ प्रस्थान गरेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए।
स्थानीय स्वास्थ्य चौकीसमेत पहिरोले बगाएका कारण प्राथमिक स्वास्थ्य उपचारको पनि अभाव रहेको स्थानीयको भनाई रहेको छ। सोही स्थानमा आइतबार बेपत्ता रहेका गणेश तामाङको शव फेला परेको थियो भने अन्य तीनजना अझै हराइरहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पानी पर्ने क्रम नरोकिएकोले जोखिम बढ्न सक्ने भन्दै सबैलाई सावधानी रहन आग्रह गरेकी छन्।














Discussion about this post