इटहरी : झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका ९ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ की ४२ वर्षीया रुपा प्रधानलाई ८ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो ।
यसैगरी कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका १० का २६ वर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका ३ की २५ वर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, अस्थायी प्रहरी चौकी मंगलबारे मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली २ का २३ वर्षीय विजय खवासलाई प्रतिवन्धित औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुलसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post