इटहरी : आँफूलाई सुशासनयुक्त भनेर दाबी गर्ने इटहरी उपमहानगरपालिका आफैँ भने विभिन्न कारणले समय–समयमा विवादमा आउने गरेको छ ।
पछिल्लो समय उपमहानगरले कर वृद्धिको कारण चौतर्फी तनावसमेत झेलिरहेको छ । यसैबीच उपमहानगरका कर्मचारीले सरकारी नम्बर प्लेटको सवारी (मोटरसाइकल) चलाउँदासमेत हेल्मेट प्रयोग गर्ने नगरेको पाइएको छ ।
आइतबार दिउँसो ३ बजेको समयमा इटहरी उपमहानगरपालिकाको गेट अगाडिबाट मोटरसाइकलमा निस्किए, कर्मचारी दीपेश आचार्य ।
प्रदेश १–०२–००१ प ३३०६ सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकलमा उपमहानगर गेटबाट निस्किएका आचार्यलाई ‘हेल्मेट किन प्रयोग नगरेको ?’ भनेर सोध्दा उनले गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भए ।
यतिसम्म गैरजिम्मेवार र झर्को लाग्दो उत्तर थियो कि, ‘हेल्मेट छैन, किन ?’ उनको झर्को लाग्दो उत्तरले स्थानीय मानिसहरूसमेत उनीतर्फ केन्द्रित भए । उनले हेल्मेट प्रयोग नगरेको मात्रै होइन, मोटरसाइकलमा राखेका पनि थिएनन् ।
उनी इटहरी उपमहानगरको गल्ली हुँदै हेल्मेटबिनै संगीत चौकतर्फ लम्किए । आचार्य इटहरी उपमहानगरपालिकामा योजना प्राविधिक शाखामा इञ्जिनियरको रूपमा कार्यरत छन् ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर्मचारीहरूले भ्रष्टाचार नगर्ने दाबी गर्दै आएको र गरेको भए आँफूलाई जानकारी गराउन यसअघि विभिन्न सञ्चारमाध्यममा भन्दै आएका छन् ।
तर, उपमहानगरकै कर्मचारी, सरकारी पोसाकमा, सरकारी नम्बर प्लेटको मोटरसाइकलमा, कार्यालय समयमै खुलेआम हेल्मेटबिनै हिँड्दा मेयर पौडेल बेखबर जस्तै छन् ।
यता, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हेल्मेट प्रयोग नगरेको विषयमा जानकारी नभएको बताए । ‘हेल्मेटबिनै मोटरसाइकल चलाउन पाइदैँन, त्यस्तो पाइएमा हामी स्पष्टीकरण लिन्छौँ,’ उनले टाकुरा न्यूजसँग भने, ‘अहिलेसम्म जानकारी छैन, जानकारी भएमा पठाउनुहोला ।’
इटहरीमा खासगरी वडा कार्यालय र बढी हिँडडुल गर्ने, प्राविधिकहरूलाई मोटरसाइकल दिएको उनले बताए । उनले भने, ‘इटहरीमा व्यक्तिलाई भन्दापनि वडा कार्यालयहरूमा र काम बढी भएर हिँडडुल गर्नुपर्ने अवस्थाका कर्मचारीलाई मात्रै मोटरसाइकल दिएका छौँ ।’
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० अन्तर्गत दफा १६४ (ढ) मा ‘पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको पाइएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था’ उल्लेख छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसी प्रदेशका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश रेग्मीले हेल्मेट नलगाई मोटरसाइकल चलाएको पाइएमा ऐनबमोजिम कारबाही गरिने बताउँछन् ।
‘यदि मोटरसाइकल चलाउँदा हेल्मेट नै नलगाईकन भेटिएमा कारबाही गरिनेछ,’ उनले भने, ‘यो नियम जो सुकैलाई पनि लागू हुन्छ ।’
Discussion about this post