धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत शिक्षकहरूले परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।
तालाबन्दीपछि प्रतिष्ठानको पठनपाठन र नियमित परीक्षाहरू रोकिएको छ । आज (आइतबार) हुने बिएससी एमएलटीको परीक्षा तथा एमबीबीएसका सबै परीक्षा स्थगित भएको छ ।
परीक्षा स्थगित भएपछि प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले ‘परिस्थिति सहज भएपछि’ परीक्षा सञ्चालन हुने सूचना जारी गरेका छन् ।
सात महिना अघिदेखि सुरु भएको बढुवा प्रक्रिया रोकिएपछि प्रतिष्ठानका शिक्षकहरू एक सातायता आन्दोलित छन् । प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बढुवा प्रक्रिया सुरु गरेका थिए ।
उनी निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रतिष्ठानका रेक्टर प्रा. डा. सञ्जीवकुमार शर्माले समेत बढुवा प्रक्रिया अगाडि बढाएका थिए ।
कायममुकायम उपकुलपतिमा प्रा. डा. प्रल्हाद कार्की नियुक्त भएपछि उनले बढुवा प्रक्रिया रोकेका हुन् ।
कार्कीले आन्तरिक बढुवाका लागि लोकसेवा आयोगसँग राय माग गरेपछि आयोगले शिक्षक सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली २०७९ को प्रस्तावित मस्यौदा स्विकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रिया अगाडि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएको छ ।














Discussion about this post