इटहरी : इटहरीमा वीपी साहित्य सन्ध्या कार्यक्रमको आयोजना गरिएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) द्वारा आयोजित वीपी साहित्य सन्ध्या कार्यक्रममा तीन चरण गरी समापन गरियो ।
पहिलो चरणमा कवितामा पाँच कविले आफ्ना दुई कविता वाचन गरे । कविहरू सुदीप पाख्रीन, टीका आत्रेय, प्रज्वल पराजुली, सविता गौतम (दाहाल) र रमेश सायनले दुई–दुई कविता वाचन गरे । उनीहरूले कविता वाचन गर्दा आमन्त्रित अतिथिहरू मुग्ध बने ।
यस्तै, दोस्रो चरणमा साहित्यमा वीपी कार्यक्रमको आयोजना गरियो ।
जसमा डा. राम्जी तिमल्सिना वक्ता थिए भने मन्दीप भट्टराईले सहजीकरण गरे । तिमल्सिनाले भने, ‘कांग्रेसीहरूले वीपी बुझ्न पहिला उनलाई साहित्यकारका रूपमा पढ्नुपर्छ, वीपीको समाजवादी चिन्तन र साहित्य बुझाउनुपरे म सदैव तत्पर छु ।’
यस्तै, तेस्रो चरणमा भने ‘स्ल्याम पोयट्री’ श्रृङ्खला थियो । कवि युवराज काफ्लेले सहजीकरण गरेको कार्यक्रममा कविहरू शकुन्तला मञ्जरी, किरण चौलागाईँ र योगेन्द्र पराजुलीले प्रस्तुति दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले वीपीले नेपाली साहित्यमा पु¥याएको योगदान जीवन्त रहने बताए ।
‘पार्टी केन्द्रीय कार्यसमितिले पनि विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर तीन दिने साहित्य उत्सव आयोजना गर्ने तयारी गरेको छ,’ उनले भने, ‘स्थानीय स्तरमा भएको यो कार्यक्रमले देशभर नै एउटा सकारात्मक उर्जा प्रदान गर्नेछ । खासगरी वीपीले राजनीतिमा मात्रै होइन, साहित्यमा पनि साँच्चैको योगदान पु¥याएका छन् भन्ने अनुभूत गराउनेछ ।’
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) का सभापति सुवेक्छु देवान राईले यो कार्यक्रम नितान्त साहित्यसँग सम्बन्धित रहेको बताए ।
‘हामीहरूमा पनि कहिँ न कहिँ साहित्यको भाव छ, त्यसैले पनि यस किसिमको कार्यक्रमको आयोजना गरेका हौँ,’ देवानले भने, ‘आजको पुस्ता मात्रै नभइ भोलिको पुस्ताले पनि वीपी कोइरालालाई पढ्नुपर्छ ।’ उनले वीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीको अवसर पारेर अहिले वीपी सप्ताह कार्यक्रम मनाइरहेको बताए ।
कार्यक्रमको अन्त्यमा थारु सांस्कृतिक नृत्य प्रस्तुत गरियो । त्यससँगै एक सय १० औँ बीपी जयन्तीमा सम्झनास्वरूप ११० वटा मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
Discussion about this post