प्रसिद्व हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गीत सार्वजनिक गरेका हुन् ।
गीतकार डा. दीपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहोलमा गीत सार्वजनिक गरिएको आचार्यले बताए ।
‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’
गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए ।
‘उहाँलाई दुइ–चारवटा गीतहरू पठाएँ । तर, सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीहरूको देश चिनाउने दायित्व ठूलो छ । पुराना खेलाडीहरुले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ ।’
विशाल निरौलाको संगीत र एरेन्ज रहेको गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा खिचिएको छ ।
श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकर र रन्जन राई गीतको रेकर्डिस्ट हुन् । गीतको निर्माता सुशीला पौड्याल र गौपाल पौड्याल रहेका छन् ।
Discussion about this post