इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाको निलम्बन फुकुवा गरेको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले असार २५ गतेदेखि लागू हुनेगरी कोशी प्रदेशका महामन्त्री थापाको कारबाही फुकुवा गरेको हो ।
केन्द्रीय अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटाद्धारा जारी पत्रअनुसार गत फागुन २३ गरिएको कारबाही फुकुवा गरी सोही पदमा पदस्थापन गरिएको छ ।
थापालाई इटहरीमा रहेको जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर पैसा नतिरेको विषयमा निलम्बनमा परेका थिए ।
इटहरी उपमहानगरपालिका वडा नं. ९ मा करिब २ कट्ठा जग्गा भाडामा लिनेक्रममा थापाले सनमुन प्लाजाको नाममा विद्यालयसँग सम्झौता गरेका थिए ।
प्लाजा र विद्यालयबीच भएको सम्झौताअनुसारको भाडा नबुझाएको तथ्य बाहिरिएपछि थापालाई जिम्मेवारीबाट हटाइएको थियो ।
विद्यालयले पाँच वर्षको भाडा असुल गर्न बाँकी रहेको लिखित पत्र काटेसँगै थापालाई स्पष्टीकरण सोधिएको थियो । तर, थापाले चित्तबुझ्दो जवाफ नपठाएको र सामाजिक सञ्जालमा लाइभ बसेर जथाभावी आरोप, प्रत्यारोप गरेकाले तत्काललाई जिम्मेवारीबाट हटाइएको पार्टीले जनाएको थियो ।
तर मंगलबार पुनः अनुशासन आयोगले थापाको कारबाही फुकुवा गरेको जनाएको हो ।
उता, केन्द्रमा भने महामन्त्री मुकुल ढकाललाई पार्टीले पदमुक्त गरेको छ । पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पु¥याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो ।
यो पनि – जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
Discussion about this post