विराटनगर : कोशी प्रदेशमा उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने द्धिपक्षीय सम्झौता भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच बिहीबार सम्झौता भएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नागरिकलाई सर्वसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ । मुख्यमन्त्री कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उनले अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकका अपेक्षा पूरा गर्न समझदारीले सहयोग पुग्ने बताए । आगामी दिनमा प्रदेशमा नयाँ काम गर्न सहज हुने उनको भनाइ छ ।
कोषका कार्यकारी अधिकृत घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योगको विकास र उद्यमशीलताको विस्तारमा समझदारीले नयाँ ढोका खोलेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरी समझदारी गरिएको बताए ।
Discussion about this post