इटहरी : थाइल्यान्डबाट हुलाकमार्फत नेपाल पठाइएको पार्सलमा लुकाएर ल्याइएको एक किलो नौ सय १० ग्राम थाई गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाइएको पार्सलमाथि शंका लागेपछि चेकजाँच गर्दा ९ सय १० ग्राम थाई गाँजा बरामद भएको थियो ।
पार्सल इटहरीमा रिसिभ गर्ने मुख्य व्यक्तिसम्म पुग्न प्रहरीले ‘कन्ट्रोल डेलिभरी’को प्रक्रिया अपनाएको थियो । सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–२० की १९ वर्षीया जेसिका तामाङ र धनकुटा छथरजोरपाटी गाउँपालिका–२ की २५ वर्षीया तारा मगर रहेका छन् ।
उनीहरूको धरान उपमहानगरपालिका–१५ मिलनपथस्थित डेरामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको थियो ।
यसै क्रममा उक्त गाँजा रिसिभ गर्न आएका भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भदौ १९ गते धरान उपमहानगरपालिका–८ बाट भारत केरलका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरान र लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल समेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएको गाँजा थाइल्यान्डबाट नेपालमा हुलाक पार्सलमार्फत पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।













Discussion about this post