इटहरी : इटहरीको खनारमा मंसिर १३ गते मोटरसाइकल र स्कुटर एकापसमा जुध्दा घाइते भएका युवकको मृत्यु भएको छ ।
इटहरी १३ खनारस्थित काली मन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गदै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कोसी गाउँपालिका ८ बस्ने २६ वर्षीय आशिक भनिने रहिम आलमको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनको मृत्यु भएपछि परिवारले शव बुझ्न मानेको थिएन । तर, अस्पताल प्रशासनले उपचार बापतको खर्च छुट दिने भएपछि परिवारले शव बुझेको सुुनसरी प्रहरीले जनाएको छ ।
घटनामा उनको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको थियो । यसअघि स्कुटर चालक इटहरी १३ का ५४ वर्षीय गोपाल रिजालको सोही दिन मृत्यु भएको छ । उनको शव पोस्टमार्टम गरी मंसिर १६ गते परिवारले बुझेका छन् ।
घटनामा स्कुटर पछाडि सवार ३३ वर्षीया बबिता रिजाल र मोटरसाइकल पछाडि सवार इटहरी १४ बस्ने २५ वर्षीया विनिता पाठक घाइते भएकी थिइन् ।
यो पनि – इटहरीमा मोटरसाइकल र स्कुटर एकापसमा दुर्घटना, रिजालको मृत्यु
Discussion about this post