धरान : “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन” भन्ने मूल सन्देशका साथ धरानमा ११ दिने सङ्गीत महोत्सव सुरू भएको छ ।
मौलिक तथा जातीय भेषभुषा, सांस्कृतिक प्रदर्शनी, अर्गानिक खाद्यान्नलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव आइतबारबाट धरान उपमहानगरपालिका–१५ बगरकोटमा सुरु भएको महोत्सव यही पुस १७ गतेसम्म चल्नेछ ।
महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश ईवारमले बताए ।महोत्सवको पहिलो दिन किरातीहरूको साकेला सिली र लिम्बूहरूको च्याब्रुङ प्रदर्शन गरिएको थियो । महोत्सव अवधिभर थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवको आयोजक नेचर क्लब धरान र निशान त्रिभ्याली विकास संस्था धरान–१५ रहेको छ भने सह–आयोजक त्रिवेणी महिला समूह रहेको छ । महोत्सवमा ५० वटा स्टल रहेको महोत्सवका संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले जानकारी दिए ।
महोत्सव अवधिभर कलाकारहरू सविन राई, ज्योती मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समीर श्रेष्ठ, ट्राइवररेन (सिक्किम), अनमोल गुरुङ (कालिम्पोङ), रक हेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरू सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाललगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
Discussion about this post