इटहरी : एकीकृत सरकारी कर्मचारी संगठन सुनसरीद्वारा प्रकाशित ‘सुनसरी दर्पण’ कृतिको पहिलो अंक इटहरीमा एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ।
वार्षिक रूपमा प्रकाशन गरिने गरी तयार पारिएको यस कृतिको विमोचन संगठनका उपाध्यक्ष भुवन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा महासचिव प्रकाश राई, केन्द्रीय सदस्यहरू, प्रदेश, जिल्ला तथा स्थानीय तहका कर्मचारी प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संगठनका सुनसरी अध्यक्ष गणेश भट्टराईका अनुसार शिवराज खड्काको संयोजकत्वमा गोविन्द तिम्सिना, टेकबहादुर कार्की, निला ढुंगाना र गणेशप्रसाद धितालको सम्पादनमा तयार पारिएको कृतिमा ४३ जना लेखकहरूको लेख तथा रचनाहरू समावेश गरिएका छन्।
कार्यक्रममा सम्बोधन गर्दै संगठनका महासचिव राईले अहिले संसदमा पेश भएको संघीय निजामती सेवा ऐनका विषयमा आफ्ना धारण विशेष रूपमा राखेका थिए ।
राईले संघीय निजामती सेवा ऐनमा कर्मचारीको माग नसमेटिएको भन्दै आन्दोलनात्मक कार्यक्रम अघि बढाउने चेतावनी दिए।
‘पटकपटक उठाइएको मागलाई बेवास्ता गरिएको छ,‘ उनले भने, ‘अब आन्दोलनबाट सशक्त आवाज बुलन्द गर्नुपर्ने समय आएको छ।‘ उनले कर्मचारीहरूको माग सम्बोधन गर्न रचनात्मक आन्दोलन जारी राख्नेसमेत उल्लेख गरे ।
कार्यक्रममा ‘सुनसरी दर्पण’लाई सामाजिक क्षेत्रका गतिविधि, तथ्यांक र विचार प्रस्तुत गर्ने प्रामाणिक दस्तावेजका रूपमा चिनाइएको थियो।
वक्ताहरूले यस कृतिलाई सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, काव्यिक र सांस्कृतिक प्रतिबिम्बका रूपमा व्याख्या गरे।













Discussion about this post