इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत अस्पताल सम्बन्धी टिप्पणी गरेका एक स्टाटसप्रति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आपत्ति जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारद्धारा जारी विज्ञप्तिअनुसार मेयर साम्पाङले आफ्नो फेसबुक पेजमार्फत प्रकाशित स्टाटसमा अस्पताल र चिकित्सकहरूप्रति तथ्यहीन, भ्रामक र बदनाम गर्ने किसिमका अभिव्यक्तिहरू व्यक्त गरेका थिए। सार्वजनिक रूपमा भएको टिप्पणीले सेवाग्राहीमा भ्रम फैलिएको र संस्थाको गरिमामा आँच पुगेको प्रतिष्ठानको दाबी छ।
विज्ञप्तिमा भनिएको छ, “प्रमुखज्यूबाट हाम्रो पुरानो अस्पताल भनिएकोमा धरान छाताचौक स्थित पुरानो अस्पताल तथा स्वयम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आम धरानवासीको धरोहर तथा सम्पति भएको तथ्य अवगत गराइन्छ ।”
प्रतिष्ठानले उक्त स्टाटस हटाउन र भविष्यमा यस्ता अभिव्यक्ति नदिई संयमित व्यवहार गर्न आग्रह गरेको छ।
साथै, विज्ञप्तिमा मेयरको स्टाटसको कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपमान महसुस भएको भन्दै मानसिक असरसमेत परेको उल्लेख छ। प्रतिष्ठानले आफूहरू जनताप्रति उत्तरदायी रहेकाले सत्य, तथ्यमा आधारित सूचना प्रवाह हुनुपर्नेमा जोड दिएको छ।
“बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन २०४९ तत्कालिन प्रतिनिधिसभाबाट पारित भई स्थापना भएको स्वायत्त संस्था हो । प्रतिष्ठान स्थापना भए पश्चात तत्कालीन श्री ५ को सरकारको मिति २०४८।१०।०४ को निर्णय बमोजिम साविकको धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “यी सबै प्रक्रिया हुन प्रतिष्ठानको कार्यकारिणी समिति तथा संचालक परिषद् समेतको निर्णय प्रकृया भई जानुपर्ने हुन्छ । १ संचालक परिषदको सदस्यमा तत्कालीन धरान नगरपालिका हाल धरान उपमहानगरपालिका प्रमुख सदस्य रहने व्यवस्था रहेको समेत सम्पूर्ण धरानवासीहरूलाई जानकारी गराइन्छ ।”
मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जालमा “स्वास्थ्य मन्त्री ज्यू, हाम्रो पुरानो अस्पताल बीपीले हडपेको छ । धरान उपमहानगरलाई फिर्ता दिने कि नदिने ? मैले अस्पताल बनाउन र चलाउन बजेट राख्नु कि नराख्नु यस्पाल ?” भनेर लेखेका थिए ।
साथै, बुधबार स्वास्थ्य मन्त्रालयलाई पनि सोही किसिमको पत्र काटेका थिए ।
यसबारे खण्डन गर्दै प्रतिष्ठानले स्थानीय सरकार प्रमुखबाट सुटुक्कै लगेको, हडपेकोजस्ता शब्दावली प्रयोग हुँदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह भएकोमा आपत्ति जनाएको छ ।
“साथै प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्को सदस्यसमेत रहनभएका धरान उपमहानगरपालिका प्रमुखजस्तो गरिमामय पदको व्यक्तित्वबाट स्ट्याटस सम्प्रेषणमा यस प्रकारका शब्द प्रयोग गरी आम सर्वसाधारणमा गलत सूचना प्रवाह नगरिदिनहुन र उक्त स्ट्याटस सच्याई दिनहुन धरान उपमहानगरपालिका प्रमुखज्यूलाई प्रतिष्ठान सादर अनुरोध समेत गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “जहाँसम्म पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आम धारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल हुँदा प्रतिष्ठान सदैव सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने प्रतिबद्धता समेत प्रतिष्ठान व्यक्त गर्न चाहन्छ ।”















Discussion about this post