इलाम : इलामको सूर्योदय नगरपालिका–२, बागवीरेमा पहिलोपटक कालो चितुवा (ब्ल्याक प्यान्थर) फेला परेको छ। सोमबार बिहान टङ्क काफ्लेको बाख्राको खोरमा बसेको अवस्थामा उक्त चितुवा भेटिएको हो।
लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेका अनुसार चितुवाले खोरमै रहेका दुई माउ र एउटा पाठो गरी तीन वटा बाख्रा मारेको थियो।
‘‘घाँस हाल्न जाँदा अघाएर सुतिरहेको अवस्थामा चितुवा भेटियो, यसको रङ कालो भएकाले यो दुर्लभ प्रजाति हो भन्ने ठानेर प्रहरी–प्रशासनमा खबर गर्यौँ,’’ घिमिरेले भने।
स्थानीयहरूका अनुसार पछिल्लो एक महिनामा सो क्षेत्रका सात वटा बाख्रा चितुवाले मारेको छ। यसअघि घिमिरेकै खोरबाट दुईवटा, माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काका बाख्रासमेत मारिएको छ।
चितुवाले बारम्बार चौपाया मार्न थालेपछि स्थानीय त्रासमा बसिरहेका छन्। ‘‘घाँस–दाउरा गर्न, नानीहरूलाई विद्यालय आउजाउ गर्न, एक्लै हिँडडुल गर्न डर लाग्ने अवस्था छ,’’ घिमिरेले भने।
डिभिजन वन कार्यालय इलामका प्रमुख वीरेन्द्र साहका अनुसार फेला परेको चितुवा उद्धारका लागि तत्कालै कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली खटिएको थियो।
‘‘कोशी प्रदेशमै पहिलोपटक यस्तो चितुवा भेटिएको हो। यसअघि काभ्रेमा मात्र फेला परेको तथ्याङ्क छ। उद्धारपछि थप अनुसन्धान गरिनेछ,’’ उनले भने।
विशेषज्ञहरूका अनुसार कालो चितुवा वास्तवमा साधारण चितुवा नै हो। तर यसको शरीरमा हुने रङ दिने पदार्थ मेलनिन धेरै भएकोले पूरै कालो देखिन्छ। मेलनिन भन्नाले हाम्रो छाला, कपाल, आँखा जस्ता अंगलाई रङ दिने प्राकृतिक पदार्थ हो।
इलाममा भेटिएको यो चितुवा दुर्लभ मानिन्छ।
Discussion about this post