इटहरी : सुनसरीस्थित झुम्का कारागारमा पछिल्ला १५ दिनमा चार कैदीको मृत्यु भएको छ। ज्वरो र अन्य स्वास्थ्य समस्याका कारण दर्जनौँ कैदी बिरामी परेका छन्।
बुधबार साँझ सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा पुर्पक्ष कैदी रहेका यादवलाई ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या भएको थियो।
यसअघि भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राई, भदौ १५ गते सुनसरीको गढी–६ का ४८ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको मृत्यु भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार बिहीबार बिहानको राति १ बजेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला अस्पताल इनरुवा, प्रहरी अस्पताल र बेदान्त अस्पतालका २२ जना चिकित्सकले तीन सय ५३ कैदीको स्वास्थ्य परीक्षण गरेका छन्।
रगतकाे नमुना संकलन गरी थप परीक्षण भइरहेको छ।
‘मध्यराति १ बजेसम्म स्वास्थ्य जाँच गरी औषधी पनि दिइएको छ,’ उनले भने, ‘पछिल्लो समय ज्वरोकै कारण धेरै बिरामी परेको प्रारम्भिक बुझिएको छ ।’
तिम्सिनाका अनुसार अहिले नेपाल प्रहरी अस्पतालको एम्बुलेन्स र चिकित्सकसहित ‘स्ेटन बाइ’ रहेका छन् ।
‘सुरु–सुरुमा स्वास्थ्य बिग्रिएजस्तो अनुभूति हुने र श्वासप्रश्वास बिग्रिने लक्षण देखिएको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘रातिसम्म स्वास्थ्य चेकजाँच गरी रगतको नमुना संकलन गरिएको छ । अब रिपोर्ट आएपछि के भएको भन्नेबारे खुल्छ ।’
हाल १३ जना कैदीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको जेलर राम निरौलाले जानकारी दिए। चिकित्सकले हैजा वा भाइरल संक्रमण हुनसक्ने प्रारम्भिक आशंका व्यक्त गरेका छन्।
क्षेत्रीय कारागार झुम्कामा ब्लक ‘ए’ र ‘बी’ गरी हाल १ हजार ७९३ कैदी रहेका छन्।
कैदी संख्याको तुलनामा स्वास्थ्य पूर्वाधार र जनशक्ति अपर्याप्त रहेको भन्दै जिल्ला सुरक्षा समितिले कारागार प्रशासनलाई स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ।
Discussion about this post