इटहरी : जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यपालिका भवनसहित अन्य संरचना पूर्ण रूपमा क्षति भएपछि मंगलबार भुइँमै कार्यपालिका बैठक बसेको छ ।
मेयर हेमकर्ण पौडेल, उपमेयर सङ्गीता चौधरी, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृतसहितका सदस्यहरू कार्यालय परिसरमै चकटी वा गुन्द्री बिना भुइँमै बैठकमा बसेका हुन् ।
भवन र फर्निचरसहित कम्प्युटर, कागजात, सवारीसाधनसमेत जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाह अवरुद्ध भएको छ । बैठकले असोज ४ गतेदेखि अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ ।
मेयर पौडेलले क्षतिग्रस्त संरचना तत्काल पुनर्निर्माण गर्न सम्भव नभएकाले अस्थायी संरचनाबाटै सेवा दिनुपर्ने धारणा राखे । सो बैठकले आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कारबाही गर्न पहल गर्ने निर्णयसमेत गरेको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा उपमहानगरपालिकाको मेयर कक्षसहित ५ वटा भवन खरानी बनेका थिए भने मेयर पौडेल र वडा १७ का अध्यक्ष प्रभात आचार्यको निजी घरमा समेत आगजनी भएको थियो । भदौ २३ मा इटहरी चोकमा दुई जना प्रदर्शनकारीको मृत्युसमेत भएको थियो । खासगरी मंगलवारको बैठकले इटहरीमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका दुई जनाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। यसैगरी घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ।
यस्तै, नगरमा भएका भौतिक क्षतिको विवरण संकलन गर्ने, इटहरी कार्यपालिका कार्यालय असोज ४ गतेसम्म बिदा दिने र त्यसपछि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रहरीले उपमहानगरपालिकामा भएको क्षति र आगजनीमा संलग्नको पहिचान गरी अनुसन्धान सुरु गरिएको जनाएको छ ।
Discussion about this post