इटहरी : लगातारको भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
आइतबार साँझसम्मको मापनअनुसार कोशीमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । जसलाई अत्यन्तै उच्च खतराको अवस्था मानिएको छ।
पानीको सतह अत्यधिक बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। सुरक्षालाई ध्यानमा राख्दै ब्यारेज हुँदै ठूला तथा भारयुक्त सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको छ भने साना तथा मझौला सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको छ।
बहाव स्थिर देखिए पनि पहाडी जिल्लामा भीषण वर्षा जारी रहेकाले स्थिति थप जटिल बन्न सक्ने अनुमान गरिएको छ। जसकारण सुनसरी प्रहरीले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित रहन र सतर्क रहन आग्रह गरेको छ।
ब्यारेजका सबै ढोका खुलेपछि नदीको बहाव भारततर्फ फैलिएको छ। प्राप्त जानकारीअनुसार भारतको सुपौल जिल्ला पूर्ण रूपमा प्रभावित भएको छ भने अररिया जिल्लाका केही भागमा पनि बाढी पसेको छ।
भीमनगर, वीरपुर र बसमतिया आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन् र त्यहाँका स्थानीय बासिन्दा सुरक्षित स्थलतर्फ सारिन थालेका छन्।














Discussion about this post