मोरङ : हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा पर्ने ६ किलोमिटर सडक विस्तार कार्य लामो समयदेखि प्रभावित भएपछि स्थानीय बासिन्दाले ढाट लगाएर विरोध गरेका छन्।
निर्माण कार्यमा ढिलाइ हुनुका साथै सरोकारवाला निकाय र ठेकेदार कम्पनीबीच मिलेमतो भएजस्तो देखिएको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन्।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी र निर्माण सम्झौता पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीबीच मिल्यालेर कार्यान्वयन ढिइएको आशंका स्थानीयले व्यक्त गरेका छन्।
योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले केही दिन अघि निर्माण कम्पनीलाई अन्तिम सात दिनको समयसीमा दिँदै स्पष्टीकरण सोधिएको र त्यसपछि निर्माण सामग्री केही मात्रामा झारेको दाबी गरे पनि स्थानीयले वास्तविक काम सुरू नहुँदा विश्वास गर्न नसकिने बताएका छन्।
यसैबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले योजना कार्यालयका अधिकारीहरू ठेकेदारलाई जोगाउन लगातार भूमिका खेलिरहेको आरोप लगाएका छन्।
उनले भने, “ठेकेदारले काम नगर्ने हो भने तत्काल कारबाही होस् र नयाँ प्रक्रियाबाट काम अघि बढाइयोस्। अब हामी सर्वदलीय संयन्त्र बनाएर विभागीय मन्त्रीसम्म जाने तयारीमा छौँ।”
स्थानीयका अनुसार सडक विस्तारसँगै विद्युत् पोल सार्ने जिम्मेवारी पनि ठेक्कामै समावेश थियो।
तर, हाल रहेका पोल सारेर सडक खाली गर्नुको सट्टा नयाँ पोल जडान गर्नुपर्ने अवस्था देखिएपछि ठेक्का व्यवस्थापन पुनःगर्नुपर्ने आवश्यकता उत्पन्न भएको छ।
ठेकेदार कम्पनीले यी विषयमा स्पष्टता नदिई समय बिताउँदै आएको स्थानीयको आरोप छ।
२०७६ सालमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सनले हाटखोला स्थित सिङ्घियाखोलादेखि रामचोकसम्मको ६ किलोमिटर सडक विस्तार कार्य अझै अपूरो राखेको हो।
धुलो र उखेलिएका सडकका कारण सवारीसाधन र स्थानीय दैनन्दिन आवतजावत अत्यधिक प्रभावित भएको छ।














Discussion about this post