इटहरी : इटहरीको व्यस्त सार्वजनिक क्षेत्र मितेरी पुल लागूऔषध कारोबारको सम्भावित थलो बन्दै गएको संकेत गर्दै प्रहरीले साँझको समयमा एक युवकलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
आज (मंगलवार) साँझ करिब ५ बजेतिर इटहरी उपमहानगरपालिका–४ स्थित मितेरी पुलमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गरेको थियो।
सो क्रममा सोही ठाउँका करिब ३० वर्षीय टीका राईको साथबाट ब्राउनसुगर ४.२३ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
सार्वजनिक आवतजावत बाक्लो हुने स्थानमा लागूऔषध बोकेर हिँड्नुले इटहरी क्षेत्रमा लागूऔषधको सञ्जाल सक्रिय रहेको देखाएको छ।
प्रहरीले बरामद गरिएको पदार्थको परीक्षण तथा स्रोत पहिचान गर्दै लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजीमा अनुसन्धान अघि बढाएको जनाएको छ।
नियन्त्रणमा लिइएका राईलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post