धरान : देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी तथा चिकित्सकहरू सहभागी हुने अल नेपाल इन्टर मेडिकल कलेज मिट ‘साइन्याप्स २०२६’ आगामी माघ १६ गतेदेखि धरानमा आयोजना हुने भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा तथा विद्यार्थी कल्याण समाजको निगरानीमा हुने यो कार्यक्रम माघ १६ देखि २४ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ७) सञ्चालन हुनेछ।
नौ दिनसम्म चल्ने कार्यक्रममा खेलकुद, साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समेटिनेछन्।
आयोजक समिति तथा विद्यार्थी कल्याण समाजका सदस्य एवम् एमबीबीएस चौथो वर्षका विद्यार्थी सन्दीप बिकका अनुसार साइन्याप्स २०२६ मेडिकल साइन्सका विद्यार्थीहरूबीच हालसम्मकै सबैभन्दा वृहत् इन्टर मेडिकल कलेज मिट हुनेछ।
बिकका अनुसार सन् २००६ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको साइन्याप्स कोरोना महामारी तथा अन्य विविध कारणले सन् २०१९ पछि नियमित हुन सकेको थिएन।
करिब आठ वर्षपछि पुनः आयोजना हुन लागेको साइन्याप्स २०२६ को उद्देश्य मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन गर्नु र प्रतिभा उजागर गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको औपचारिक उद्घाटन माघ १६ गते बिहान आयोजना हुने वाकाथनबाट गरिनेछ, जसमा प्रतिष्ठान तथा अन्य मेडिकल कलेजका पदाधिकारी, फ्याकल्टी, चिकित्सक र विद्यार्थीहरूको सहभागिता रहनेछ।
खेलकुद अन्तर्गत फुटबल, फुटसल, क्रिकेट, क्रिक्सल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, क्यारम बोर्ड, चेस, जिम, एथलेटिक्स तथा मोबाइल र कम्प्युटर गेमका छुट्टाछुट्टै प्रतियोगिता हुनेछन्।
त्यस्तै साहित्यिक विधामा क्विज, स्पेलिङ बी, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, कविता, लघुकथा लेखन, स्केचिङ तथा पेन्टिङ प्रतियोगिता आयोजना गरिनेछ।
हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन हुनेछन्।
सांस्कृतिक कार्यक्रम अन्तर्गत र्याम्प वाक शो, भजन आराधना, अन्तरकलेज गायन तथा नृत्य प्रतियोगिता, आकाशवाणी (फ्लाइङ ल्यान्टर्न शो), ओपन माइक शो, डीजे नाइट तथा युट्युब सेन्सेसन कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सांगीतिक कन्सर्ट आयोजना गरिनेछ।












Discussion about this post